काठमाडौं । काठमाडौंमा पछिल्लो समय अपराधका घटनामा वृद्धि भएको सर्वसाधारणहरूले गुनासो गर्न थालेका छन् । सबैभन्दा धेरै सुरक्षित हुनुपर्ने राजधानी नै असुरक्षित बन्न थालेपछि काठमाडौं प्रहरीको आलोचना सुरु भएको छ ।
काठमाडौं जिल्लाका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले नेतृत्व लिएपछि दुई ठूला घटना भइसकेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै हत्या भएको छ । उनका अपराधीहरू अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
त्यसैगरी ठमेलको एक डिस्को क्लवमा युवती जिस्काएको भन्दै म्हैपीको बीच सडकमा कल्याण गुरुङमाथि गोली प्रहार भएको छ । चाढ पर्वका बेला मनाइने देउसी भैलो नियन्त्रण गरेर सर्वसाधारणलाई मौलिक संस्कृति मनाउन नदिएको प्रहरीले राजधानीका रात्रिकालीन डिस्को क्लव, डान्साबार जस्ता ‘रेड’ क्षेत्रलाई रातैभरि चल्न दिने गरेको छ । यी स्थानहरूमा धेरै अपराधका घटना हुने प्रहरीकै तथ्याङ्कमा उल्लेख छ ।
हुन त यसअघि रुपन्देही जिल्लाको एसपी भएका बेला रविन्द्र धानुकले राम्रो सुरक्षा व्यवस्था बनाउन नसकेको प्रहरी मुख्यालयले नै जनाएको थियो । धानुक रुपन्देही प्रहरी प्रमुख भएकै बेला एमाले निकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । धानुकले तिवारीको हत्यामा संलग्न दोषीहरूलाई पक्राउ गर्न नसकेको भन्दै एमालेले आन्दोलन समेत गरेको थियो ।
अहिले फेरि राजधानीमा ‘रुपन्देही हत्या काण्ड’लाई बिर्साउने गरी अपराधका घटना दोहोरिन थालेको आरोप छ । एसएसपी धानुकले आफ्नो जिम्मेवारीलाई सम्हाल्नुभन्दा पनि नेताहरूको चाकढी र कमिशनको चक्करमा धेरै ध्यान दिने गरेको आरोप प्रहरीभित्रबाट लाग्न थालेको छ ।
गुन्डा नाइकेहरूले पछिल्लो समय खुलेआम राजधानीमा आफ्ना गतिविधि बढाउँदै गरेको टेकु प्रहरीका एकजना जुनियर अधिकृतले बताए । उनले भने, ‘काठमाडौं प्रहरीभित्र कमाण्ड राम्रो नभएपछि राजधानीमा गुन्डा र अपराधीहरूका क्रियाकलाप मौलाउनु स्वभाविक हो । फेरि गुन्डाहरूले राजनीतिक संरक्षण पाएका कारण पनि शान्ति सुरक्षा बनाउन समस्या भएको छ ।’
एसएसपी धानुकका विश्वापात्र गंगबुस्थित प्रहरी प्रभाग दीपज्योतिका ईञ्चार्ज सहायक निरीक्षक कपिल घिमिरेले सो क्षेत्रमा असुली धन्दा चलाउँदै आएको आरोप छ । सहायक निरीक्षक घिमिरेले एआईजी जयबहादुर चन्द र एसएसपी धानुकलाई पैसा बुझाउनु पर्छ भन्दै रेष्टुरेन्ड, गेष्ट हाउस, फुटपाथ पसल, निर्माण सामाग्री बोक्ने सवारी साधनसँग असुली गर्ने गरेको एकजना पीडित गेष्ट हाउस सञ्चालकले बताए ।
एसएसपी धानुकले राम्रोसँग सुरक्षा व्यवस्था बनाउन नसकेपछि प्रहरी मुख्यालयले उनलाई सरुवा गरेर उनको ठाउँमा अर्को व्यक्ति पठाउने तयारी गरेको स्रोतको भनाइ छ । विनाविभागीय मन्त्री जनार्दन शर्मा निकट मानिने एसएसपी धानुकले बेलाबेला शर्मासँग भेटेर सरसल्लाह लिने गरेको आरोप छ । उनै शर्माले धानुकलाई काठमाडौं प्रहरी प्रमुख बनाएका हुन् ।
एसएसपी धानुकले राम्रोसँग काम गर्न नसकेपछि महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्द तनावमा परेका छन् । एआईजी चन्दलाई पनि मातहतलाई राम्रोसँग कमाण्डिङ गरेर काम लगाउन नसेकेको आरोप लागेपछि उनले महानगरीय प्रहरीभित्रका युनिटका प्रहरी प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्ने तयारीमा पुगेको स्रोतको भनाइ छ ।
चन्दले शरदकुमार गौचनको हत्यामा संलग्नहरूलाई पक्राउ गरेर कारबाही गर्न पटक–पटक निर्देशन दिइसकेका छन् । तर, सो विषयले ठोस आकार पाउनु सकेको छैन । बरु राजधानीमा गोली प्रहार, लुटपाट, फिरौतीलगायतका क्रियाकलाप बढ्दै गएको गुनासो बढेको छ ।












प्रतिक्रिया