काठमाडौं, ५ कात्तिक । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम उर्फ ‘राजाबाबु’ एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलमलाई एमालेमा स्वागत गरे ।
कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाती आलम रौतहटमा प्रभावशाली नेता हुन । उनले आफ्नै मामा अफताव आलमलाई भारी मतले पराजित गरेका थिए । गच्छद्धार कांग्रेस प्रवेश गरेपछि सहमहामन्त्री आलमले एमाले रोजेका हुन् । उनले मधेसको बिकाशका लागि एमाले मात्रै सही पार्टी रहेको बताए ।
‘एमाले मात्रै मधेशको हितमा काम गर्ने पार्टी हो भन्ने ब्यवहारबाटै पुष्टि भइसकेको छ, यही कारण मैले एमाले रोजेको हो,’ प्रवेशपछि आलमले भने, ‘केपी ओली र एमाले मधेशको सच्चा हित चिताउने र बिकाशको अभियान चलाउने पार्टी र नेता हो भन्नेमा अव मधेशमा कुनै भ्रम छैन ।’
आलमलाई अध्यक्ष ओलीसहित उपाध्यक्ष बामदेव गौतम, पोलिटब्युरो सदस्य बिष्णु रिमाल र डा. राजन भट्टराईले पनि स्वागत गरेका थिए ।
















प्रतिक्रिया