बाँके, ५ कात्तिक । बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जानकी गाउँपालिकाको गनापुरस्थित बागेश्वरी सिमेन्ट उद्योगमा एकजना कामदारको मृत्यु भएको हो ।
उद्योगमा मेसिन जडान गर्ने क्रममा माथिल्लो तलाबाट मेसिन खस्दा नवलपरासीको परासी नगरपालिका,९ का २५ वर्षीय सन्दीप जुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मेसिनमाथिबाट खस्दा गम्भीर घाइते जुवालको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले जानकारी दिनुभयो । यसैबीच सडक दुर्घटनामा परी बाँकेमै एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
बाँकेको वैजनाथ गाउँपालिका, ५ रङ्गिला चोकमा भे४प ६८६० नम्बरको मोटरसाइकल राति १२ बजे दुर्घटना हुँदा दैलेख नारायणपुर,९ बासकोटका १९ वर्षीया मंगला सुनारको मृत्यु भएको छ । तामाङका अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको बताउनु भयो ।
मोटरसाइकल चालक वैजनाथ, ५ का २७ वर्षीय सुजन रावत गम्भीर घाइते भएका छन् । घाइते सुनारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच वैजनाथ गाउँपालिकाको रङ्गिला चोक नजिकै एकजना मृतावस्थामा फेल परेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । घटनास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको तामाङले जानकारी दिनुभयो ।













प्रतिक्रिया