कञ्चनपुर, २ कात्तिक । कञ्चनपुरको एक मुक्त कमैया ग्रामीण बस्तीमा खेलकुद मैदान निर्माण भएको छ । जिल्लाको उत्तरी चुरे फेद बेदकोट नगरपालिका–२ मुक्त कमैया बस्तीमा खेल मैदान निर्माण भएको हो ।
बेदकोट नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को नगर सभाबाट १ करोड ५ लाख खेलकुदका भौतिक पुर्वाधार निर्माणका लागि छुट्याएको बजेट अन्तर्गत बेदकोट नगरपालिका २ मुक्तकमैया शिविर नजिकै नगर सभाले छुट्याएको ५० हजार लगानीबाट खेल मैदान निर्माण गरिएको हो ।
खेलमैदान उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले एक कार्यक्रमका बीच खेल मैदान उद्घाटन गर्दै बेदकोट नगरपालिकामा खेलकुद क्षेत्रमा मात्रै भौतिक पुर्वाधारका निमित्त १ करोड ५ लाख र खेलकुद गतिविधि गर्नका निमित्त ७ लाख बजेट छुट्याएको बताए । भौतिक पुर्वाधार निर्माण अन्तर्गत बेदकोट नगरपालिका ३ भम्कामा ५० लाख बराबरको कभर्डहल निर्माण गर्न, ५० लाख बेदकोट नगरपालिका ६ सिसैयाको भम्केश्वर मन्दिर नजिकैको जमिनमा क्रिकेट स्टेडियम निर्माण गर्न र १० वटै वडामा ५०/५० हजारका दरले ५ लाख बराबरको भौतिक पुर्वाधार निर्माण गर्नका निमित्त बजेट छुट्याएको प्रमुख चन्दले बताए ।
कार्यक्रमका प्रमुख अतिथि चन्दले आगामी वर्षमा पनि खेलकुद क्षेत्रमा बजेट बढाउदै लैजाने बताए । बेदकोट नगरपालिका प्रमुख अशोक चन्दले बुधबार एक कार्यक्रमका विच खेल मैदानको उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले बजेट दिएको स्पष्ट पारे । एक वडा एक खेल मैदान निर्माण गर्ने उद्देश्यका साथ यहाँ खेलकुद मैदान निर्माण गरिएको उनको भनाई छ ।
बेदकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष नरेश सिंहले गाउँमा खेल मैदान नभएको बताउदै चालु आर्थिक बर्ष २०७४/०७५ नगरपालिकाको ५० हजार बजेट मार्फत खेल मैदान निर्माण गरिएको बताए ।
उनका अनुसार सार्वजनिक जमिन सम्याएर खेल मैदान निर्माण गरिएको हो । ‘गाउँमा खेल मैदान थिएन्, ‘उनले भने, ‘त्यसैले नगरपालिकाले यहाँ खेल मैदान निर्माण गरेको हो ।’ अध्यक्ष सिहले झण्डै डेढ विगाह जमिनमा खेल मैदान बनाईएको बताए । खेल मैदान निर्माणसंगै युवाहरुलाई शारिरिक व्यायामका साथै खेलकुद विकासका लागि लाभ हुने उनको भनाई छ ।
गाउँमै खेल मैदान निर्माण भएपछि स्थानीय समेत हर्षित भएका छन् । मुक्त कमैया बस्तीका स्थानीय लक्ष्मण रानाले खेलकुद खेल्नका लागि स्थानीयलाई सुविधा भएको बताए । उद्घाटन कार्यक्रममा यस क्षेत्रको लोक संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो । दिव्य ज्योति समाज विकास केन्द्र जडेपानीले शुभकामना आदानप्रदान तथा खेलमैदान उद्घाटन समारोहको आयोजना गरेको थियो । खेलकुद मैदान उद्घाटन समारोहको अध्यक्षता दिप ज्योति समाज विकास केन्द्र जडेपानीका अध्यक्ष राजेन्द्र प्रसाद पन्तले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बेदकोट नगरपालिकाका उपप्रमुख शुसिला सिंह विशिष्ट अतिथि रहेको कार्यक्रममा बेदकोट नगरपालिका वडा नं. १ का अध्यक्ष हरि गिरी,द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष सिता बोहरा, आस्था परियोजनाका जिल्ला संयोजक प्रभुनिधि पन्त, नेल्टा कञ्चनपुरका पुर्व अध्यक्ष उत्तम विष्ट, जनचेतना सामुदायिक वनका अध्यक्ष राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया