चन्द्रौटा, १ कात्तिक । अर्घाखाँची शीतगंगा नगरपालिकाकी भीमकला बुढा कपिलवस्तुको शिवराज नगरपालिका–९, धानखोलास्थित शिवराज आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत छिन् । उनी घरबाटै हिँडेर शिक्षा आर्जन गर्न दैनिक विद्यालय आउने गर्छिन् ।
यता दाङ जिल्लाको गढवा गाउँपालिकाका दिपक कुमाल सोही विद्यालय कक्षा ८ मा अध्ययन गर्दै आएका छन् । उनीसँगै निश्चला घर्ती पनि दाङ जिल्लाबाटै सोही विद्यालय कक्षा ६ मा पढ्ने गर्छिन् ।
यता कपिलवस्तुको शिवराज नगरपालिका–१ की सर्मिला पुन पनि सोही विद्यालय कक्षा ७ मा अध्ययनरत छिन् । यस्तै शिवराज नपा १ धानखोला घर भएका प्रकाश घर्ती पनि उनीहरुसँगसँगै विद्यालयमा अध्ययन गर्न आउने गर्छन् । एक कक्षामा भर्ना भएका उनी अहिले कक्षा ८ मा पुगेका छन् । उनीहरु मात्र होइन कपिलवस्तु, दाङ र अर्घाखाँची जिल्लाका २सय १० विद्यार्थी शिवराज आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका छन् ।
कपिलवस्तु, दाङ र अर्घाखाँची जिल्लाको संगमस्थलमा पर्ने धानखोलामा अवस्थित सो विद्यालय हाल शिशुदेखि कक्षा ८ सम्म संचालित छ । विद्यालय वि.सं. २०४६ साल मंसिर १५ गते स्थापना भएको हो । “यहाँ कपिलवस्तुका शिवराज नगरपालिका, दाङको गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाका बालबालिकाहरु अध्ययन गर्दै आएका छन् ।” विद्यालयका प्रधानाध्यापक सुनिल पुनले भने – “आर्थिक अभावले विद्यालय संचालनमा ठूलो समस्या छ । ४ जना शिक्षकलाई अभिभावकले सहयोग उठाएर जोहो गर्दै आएका छन् । विद्यालयमा एक स्थायी, एक अस्थायी र एक राहत सहित ३ वटा मात्र शिक्षक दरबन्दी छ ।”
त्यतिमात्र होइन वर्षातको समयमा बालबालिकालाई विद्यालय पुग्नै समस्या छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण घर्तीले भने – “गाउँबस्ती शिवराज नगरपालिका १ मा पर्छ भने विद्यालय शिवराज नगरपालिका ९, (साविक शिवगढी ३) मा । बस्ती र विद्यालयको बीचमा खोलो छ । वर्षौंदेखि खोलाकै समस्या छ । पानी परेको बेला बाढीले छेक्छ । सानो बाढीमा त अभिभावक, शिक्षक मिलेर विद्यार्थीलाई खोलो तार्ने गर्छौं । तर ठूलो बाढी आएको बेला विद्यालय नै बन्द गर्नुपर्ने अवस्था पनि आउने गर्छ ।”
खोलामा पुल नहुँदा २७ वर्षदेखि ज्यानको बाजी थापेर विद्यालयसम्म पुग्ने गर्छन् शिक्षक र विद्यार्थी । आकाशमा कालो बादल मडारिन थालेपछि सबैलाई खोलाकै चिन्ताले सताउन थाल्छ शिक्षिका शान्ति गिरीले गुनासो पोखिन् । एकातिर विद्यालयमा आर्थिक अभाव, अर्कोतर्फ खोलाको पीर यस्ता अनेकौं चुनौतिको सामना गर्दै विद्यालय संचालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक सुनिल पुनको भनाई छ ।
“खोलामा पुल निर्माणका लागि विभिन्न निकायमा हारगुहार गर्दैै आएका छौं तर अहिलेसम्म कसैले चासो देखाएका छैनन्” –स्थानीय समाजसेवी एवं पूर्व विव्यस अध्यक्ष दिनेश मगरले गुनासो गरे । स्थानीय निकायले यसतर्फ चासो देखाए मात्र यहाँको शिक्षामा सुधार ल्याउन सकिने उनले बताए ।
अर्को प्रसंगमा मगरले भने – “ऐतिहासिक, धार्मिक तीर्थस्थलको परिचित धानखोलालाई हामी पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न लागिरहेका छौं ।” यहाँको शिक्षा, स्वास्थ्यका साथै पूर्वाधारको विकास गर्न सकेमा आम्दानीको स्रोत जुटाउन सकिने उनको विश्वास छ ।
यता शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले यसवर्ष जाली निर्माणका लागि वडा नं. १ले दुई लाख रुपैयाँ छुट्टाएको जानकारी दिए । “२० वर्षसम्म थन्किएर रहेका महत्वपूर्ण कामलाई प्राथमिकता राख्दा राख्दै पनि पहिलो वर्ष योजनामा पार्न सकिएन” नगरप्रमुख अधिकारीले भने – “अर्को वर्ष पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको अधिकारीले प्रतिबद्धता जाहेर गरे ।”














प्रतिक्रिया