
काठमाडौँ, ३० असोज । एनआरएन हङकङका उपाध्यक्ष एवं व्यवसायी कर्मा गुरुङले आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाएका छन् ।
‘म हङकङमा बसेको २५ बर्ष भयो । तर अहिलेसम्म ममाथि एउटा पनि उजुरी छैन् । प्रहरी हिरासतमा पनि परेको छैन्’, कर्माले दैनिक नेपालसँग भने -‘नेपालमा पनि मेरोविरुद्ध कुनै उजुरी छैन् । मैले सबै प्रहरी कार्यालयमा बुझिसकें । झन् लागुऔषधविरुद्ध मुद्दा लागेको भन्ने त म कल्पना पनि गर्न सक्दिन् ।’
आफूमाथि लागेको आरोपको खण्डन गर्दै कर्माले दैनिक नेपालसँग भने – ‘हङकङमा मेरो पाँच वटा रेष्टुरेण्ट, बार र ग्रोसरी छ । मैले व्यावसायिक रुपमा गरेको प्रगति र हङकङको सामाजिक क्षेत्रमा मेरो लोकप्रियता सहन नसक्नेहरुले मेरो विरुद्ध अफवाह फैलाएका हुन् ।’
तमु धोयल र एनआरएनमा दुई बर्ष बोर्ड सदस्यका रुपमा काम गरेका कर्मा एनआरएनको गत निर्वाचितमा निर्विरोध निर्वाचित भएका थिए । चुनावको दुई दिनअघिमात्रै पाकिस्तानी समूहलाई प्रयोग गरेर आफूमाथि आक्रमण गराइएको उनले बताए । आक्रमणबाट उनको खुट्टामा गम्भीर चोट लागेको थियो । हङकङ र थाइल्याण्डमा उपचारपछि अहिले उनी हिंडन सक्ने भएका छन् । हङकङको नेपाली समुदायभित्रको राजनीतिको उनी शिकार भएको बताइएको छ ।
‘हामीले समर्थन गरेको समूहले जित्ने डरले एनआरएनको चुनावकै बेला मेरो विषयमा अनावश्यक अफवाह फैलाइएको हुन सक्छ,’ कर्माले भने – ‘हामी आएपछि कतिपय मानिस हारिने डरले तर्सिएका हुन् ।’ उनले अनावश्यक हल्लाको पछि नलाग्न आफ्ना शुभेच्छुकहरुलाई आग्रह पनि गरेका छन् । आफू सानै उमेरदेखि सामाजिक अभियानमा लागेको भन्दै कर्माले यो अभियानमा आफू निरन्तर लागिरहने बताए ।
एनआरएन मकाउका पूर्वअध्यक्ष सुदर्शन थापासँग जोडेर कर्माको विषयमा आइतबार दैनिक नेपालमा समाचार प्रकाशित भएको थियो । थापाले पनि गत भदौ चार गते आफूलाई लागेको मुद्दामा सफाई पाएको बताएका छन् ।












प्रतिक्रिया