१५ कार्तिक २०८३, आइतबार

बेइजिङमा बैठक, काठमाडौंमा सुरक्षा सतर्कता

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ नेसनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदै छ । बेइजिङमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको बैठकको सुरक्षा सम्बन्ध भने काठमाडौंसम्म जोडिएको छ ।

नेसनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले सतर्कता बढाएको छ ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका वेला तिब्बती शरणार्थीले चीनलाई दबाब दिने गतिविधि काठमाडौंमा गर्ने तयारी गरिरहेको सूचना प्रहरी पाएको छ । यही वेला आत्मदाह गर्दा चीनलाई दबाब दिन सकिने भन्दै केही तिब्बती शरणार्थीलाई काठमाडौंमा आत्मदाह गराउन खोजिएको सूचना प्रहरीको छ ।

‘केही दिनअघि आत्मदाहका लागि तीनजना तिब्बती शरणार्थी काठमाडौं आएको भन्ने सूचना पाएका छौँ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘तर, प्राप्त हुलियाहरू खोजी गर्दा उनीहरू फेला परेका छैनन् ।’ आत्मदाह गर्न खोज्नेहरूको नाम प्रहरीले पाए पनि भारतसँगको सीमामा रेकर्ड सिस्टम राम्रो नहुँदा उनीहरूलाई प्रहरीले पत्ता लगाउन नसकेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले शरणार्थीहरूमाथि निगरानी बढाइएको पुष्टि गरे ।

नेपालमा करिब २० हजार तिब्बती शरणार्थी छन्, जसमध्ये करिब १३ हजारलाई गृह मन्त्रालयले शरणार्थी परिचयपत्र दिएको छ । काठमाडौंको बौद्ध, जोरपाटी, जावलाखेल र स्वयम्भूमा तिब्बती शरणार्थीको क्याम्प छ । जावलाखेलमा दलाई लामाका नेपाल प्रमुखको कार्यालय नै छ । केही महिनाअघि मात्र नेपाल प्रमुख फेरिएका छन् । हाल छुल्ट्रिम ग्याल्सो दलाई लामाका नेपाल प्रमुख छन् ।

बौद्धमा विशेष निगरानी

– आत्मदाहको सूचनापछि बौद्ध स्तुपा क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । त्यस्तै, जावलाखेल, स्वयम्भू क्षेत्रमा पनि निगरानी बढाइएको छ । राजधानीका गुम्बाहरूमा पनि सतर्कता बढाइएको छ । २२ साउन ०७० तथा २ फागुन ०६९ मा काठमाडौंमा दुई तिब्बती शरणार्थीले आत्मदाह गरेका थिए । जुन घटनाको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकतासाथ समाचार सम्प्रेषण गरेका थिए । शरणार्थीमाथि अन्याय भइरहेको भनेर सन्देश दिन नियोजित रूपमा त्यस्ता आत्मदाहका घटना गराइने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । चीनले पनि त्यस्ता गतिविधि विभिन्न देशले गरेको आरोप लगाउँदै आएको छ ।

– नेपालसँगका द्विपक्षीय बैठकमा चीनले आफ्नो देशविरुद्धका गतिविधि नेपालमा हुन नदिन आग्रह गर्दै आएको छ । एक चीन नीति लिएको नेपाल सरकारले पनि चिनियाँ शरणार्थीको चीनविरोधी गतिविधि नियन्त्रण गर्दै आएको छ । तिब्बती शरणार्थीले १० मार्च र १३ फेब्रुअरीमा पनि स्वतन्त्र तिब्बतको पक्षमा गतिविधि गर्दै आएका छन् । १० मार्चलाई तिब्बत विद्रोह दिवस तथा १३ फेब्रुअरीमा तिब्बत स्वतन्त्रता दिवस मनाइने गरिन्छ ।