११ मंसिर २०८३, शुक्रबार

उपसभामुख यादव एमालेमा प्रवेश, एमाले प्रवेश गर्ने को-को ?

48.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २९ असोज । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन् ।

भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष केपी ओलीको निवासमा आइतबार बिहान आयोजित कार्यक्रममा यादव एमालेमा प्रवेश गरेका हुन् । यादवलाई ओलीले एमालेमा प्रवेश गराएका हुन् ।

संसदको आयु सकिएको भोलिपल्टै यादव एमालेमा प्रवेश गरेपछि राप्रपाका अध्यक्ष कमल थापालाई धक्का लागेको छ । राप्रपाका अध्यक्ष थापाले शनिबार राति उपप्रधानमन्त्रीको सपथ लिएको अर्को दिन बिहानै पार्टीका नेता तथा निवर्तमान उपसभामुख यादवले राप्रपा छाडेर एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, रघुवीर महासेठसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

त्यसै गरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दलबहादुर बस्नेतसहित विभिन्न दलका नेता र कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

यसैबीच, एमालेका अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले अत्याधिक मत पाउने दाबी गरेका छन् ।

‘प्रतिनिधि र प्रदेश सभामा एमालेले अत्याधिक मतसहित जित हासिल गर्छ’, उनले भने, ‘दुई नं प्रदेशमा तेस्रो चरणको निर्वाचनमा एमालेले दोस्रो स्थानको मत पायो । २ नं प्रदेशमा किन मत घट्यो ? खोजी गर्दै छौं । अब धेरै सिट जित्छौँ ।’