काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रुपमा सहभागी अभिनेत्री वर्षा खड्काले यूरोपका लागि महिला सह–संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
हल्याण्डसको आम्सिडेममा बसोबास गर्दै आएकी खड्का एनआरएनको सम्मेलनमा भाग लिन आएकी हुन् । एनआरएनको सम्मेलन काठमाडौंमा शनिबारदेखि सुरु भएको छ ।
यूरोप महिला सह–संयोजकमा उम्मेदवारी दिने तयारीमा रहेकी अभिनेत्री खड्काले भनिन्, ‘साथीहरूको सल्लाहमा उम्मेदवारी दिने तयारी गरेकी छु । सबैको साथ पाएँ भने जित्छु पनि ।’
तपाईको उम्मेदवारी किन भन्ने जिज्ञसामा खड्काले भनिन्, ‘यूरोपमा बसोबास गर्नु हुने नेपाली समुदायको हकहितमा काम गर्ने इच्छा । हुन त पदमा नरहँदा पनि काम गर्दै आएकी छु । पदमा बसेर झन् जिम्मेवारीका साथ काम गर्ने इच्छा छ ।’
सम्मेलनको दोस्रो दिन आज (आइतबार) बन्द सत्रका साथै निर्वाचन कार्यक्रमहरू हुने छन् । भोलि सोमबार नयाँ अध्यक्षसहितका पदाधिकारीहरूमा मतदान हुने कार्यक्रम छ ।
यसपटक एनआरएनएको अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी घोषणा गरेका छन् । यी दुईबीच कडा प्रतिस्पर्धा हुँदैछ ।















प्रतिक्रिया