११ मंसिर २०८३, शुक्रबार

ओलीलाई प्रधानमन्त्रीको जवाफ- संक्रमणकालमा जतिपनि मन्त्री बनाउन सकिन्छ

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल जति पनि मन्त्री बनाउन सकिने तर्क गरेका छन् ।

व्यवस्थापिका संसदको आजको अन्तिम बैठकलाई सम्बोधन गर्दै देउवाले संक्रमणकालिन अवस्थामा संविधानले संख्या नतोकेको भन्दै आवश्यकता अनुसार मन्त्रिपरिषद विस्तार हुनसक्ने टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी ओलीले संसदबाट निर्वाचन गराउने बेला मन्त्री थपेर के गर्न खोजेको ? निर्वाचन गराउन ५६ मन्त्रीले पुगेन भन्दै कडा प्रश्न गरेपछि जवाफमा देउवाले संक्रमणकालमा संख्या निश्चित नहुने भएकाले आवश्यकताअनुसार मन्त्री थपघट हुने स्पष्ट पारे ।

‘अब मन्त्रिपरिषद ठूलो भयो भन्ने कुरा छ, यो संविधानमा यति उति भन्ने संख्या दिएकै छैन् । कहाँ भन्या छ यति संख्या भनेर, संक्रमणकाल पछि भनेको छ । संविधानले दिएको अधिकार उपयोग गर्न नपाउने प्रधानमन्त्रीले ?,’ प्रश्न गर्दै देउवाले भने– ‘संख्याको कुरा भोलि पर्सी घट्न पनि सक्छ । पाँच सात दिनपछि थाहा पाउनुहोला नी । त्यसकारण यस्ता कुरा गर्न सुहाउँदैन् ।’

मन्त्रिपरिषद विस्तारले चुनावमा कुनै असर नपार्ने कुरा निर्वाचन आयोगले भनेको स्पष्ट पार्दै कसरी आचारसंहिता उल्लंघन भयो भनी प्रश्न गरे ।

राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय स्वाभिमानको खिलापमा नेपाली कांग्रेस कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै उनले भने- ‘यो हामीले ७ सालको क्रान्तिदेखि नै लडेका छौं । यो हाम्रो पनि मुलुक हो । सबभन्दा बढी प्यारो लाग्छ हामीलाई । राष्ट्रवादी हौं । तर प्रजातन्त्र शक्तिशाली हो ।’