२१ कार्तिक २०८३, शनिबार

ललितपुर एक ‘ख’मा महर्जनको सम्भावनाबारे के भन्छन् पार्टी सभापति ?

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २७ असोज । नेपाली कांग्रेस ललितपुरले प्रदेश सभाका लागि क्षेत्र नं. १ ‘ख’मा प्रत्यक्षतर्फ पाँचजनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेहरूमा एक नं.मा कांग्रेस युवा नेता मीनकृष्ण महर्जन रहेका छन् । दोस्रो नं.मा अर्का नेता प्रभाकर पोखरेल रहेको कांग्रेस ललितपुरले जनाएको छ । प्रदेशका लागि विमलचन्द्र विष्ट, विमल थापा र कबेबहादुर लामाको नाम पनि सिफरिस भएको छ ।

ललितपुर कांग्रेसका जिल्ला सभापति एवम् सांसद मदनबहादुर अमात्यले वडा, नगर र क्षेत्रले गरेको सिफारिस अनुसारको सूची तयार पारेर केन्द्रमा पठाएका हुन् । सभापति अमात्यले महर्जनका बारेमा टिकट दिँदा उपयुक्त हुने भनेर रायसुझावसहित केन्द्रमा सिफारिस पठाएको प्रतिक्रिया दिए ।

ललितपुर कांग्रेसका जिल्ला सदस्य सानुभाइ पहरीले क्षेत्र नं. १ को प्रदेश सभातर्फ प्रत्यक्षमा मीनकृष्ण महर्जनको सम्भावना बलियो रहेको बताए ।

‘वडा, नगर र क्षेत्रले मीनकृष्ण महर्जनको नाम एक नं.मा सिफारिस गरेर पठाएको थियो’, पहरीले भने, ‘सोही आधार मानेर जिल्ला कार्यसमितिले पनि १ नं.मा नाम राखेर केन्द्रमा सिफारिस गरेको छ । सम्भवत उहाँले नै टिकट पाउनु हुन्छ ।’

अर्की जिल्ला सदस्य एवम् बागमती गाउँपालिकाकी उपाध्यक्ष रञ्जना घिमिरेले पनि प्रदेशसभामा महर्जनको सम्भावना धेरै रहेको बताइन् । ‘यो क्षेत्रमा मीनकृष्ण महर्जन लोकप्रिय हुनुहुन्छ । टिकट पाउनु भयो भने जित्नु हुन्छ ।’

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पनि क्षेत्र नं. १ ‘ख’मा मीनकृष्ण महर्जनको जित सुनिश्चित सरह रहेको बताए । उनले भने, ‘मीनकृष्ण महर्जनले टिकट पाएमा प्रतिनिधि सभाका उम्मेदवारलाई पनि जित्न सहज हुनेछ । यो क्षेत्रमा मीनकृष्णको आफ्नै लोकप्रियता छ ।’

नेपाली कांग्रेसको संसदीय समितिले समानुपातिकतर्फको बन्द सूचीका लागि धमाधम तयारी गरिरहेको छ । समानुपातिकतर्फको बन्द सूचीको टुंगो लगाउनेवित्तिक प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लगाउनेछ ।