२ कार्तिक २०८३, सोमबार

निर्वाचन आयोगमा शीर्ष नेताहरूबीच यस्तो भयो सहमति

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादत बनाउने उद्देश्यले आज राजनीतिक दलका प्रमुख एवम पदाधिकारीसँग छलफल गरेको छ ।

निर्वाचन आयोगमा शुक्रबार भएको छलफलमा प्रमुख दलका शीर्ष नेताहरूले निर्वाचनप्रति आफूहरूको प्रतिवद्धता जनाएका थिए । उनीहरूले तोकिएको समयमा निर्वाचन गर्नुपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा जस्तै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पनि शान्तिपूर्ण र भयरहित वातावरणमा उत्कृष्टरुपमा सम्पन्न गराउन राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ताहरूले सकारात्मक भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा आफू र आफ्ना पार्टीका कार्यकर्ताबाट समेत निर्वाचन आचारसंहिता पालना गर्न गराउन प्रतिबद्धता जनाउन सबै राजनीतिक दलका शीर्षस्थ नेतृत्वसँग आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष तरिकाबाट निर्वाचन सञ्चालन गरी ऐतिहासिकरूपले सफल बनाउन नेपाल सरकार र आफ्नो पार्टी कांग्रेसको तर्फबाट पूरा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमालेका अध्यक्ष केपी ओलीले आसन्न निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्न तथा कानूनले निर्दिष्ट गरेका तथा निर्वाचन आयोगले तयार गरेका नियम, कार्यविधि तथा आचार संहिताहरू आफ्नो दलको तर्फबाट पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न निर्वाचन संचालन प्रक्रिया गम्भीर ढङ्गले अघि बढेकोमा धन्यवाद दिँदै नेपालको संविधान जारी भएपछि देशलाई निर्वाचनमा लैजान आफू प्रधानमन्त्री हुँदा गरेको प्रयासको स्मरण गर्नुभयो ।

उहाँले तोकिएको मितिमा स्वच्छ र स्वतन्त्र तरिकाबाट निर्वाचन सम्पन्न गर्न आफ्नो पार्टीका तर्फबाट पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आचार सहिता सरकारका तर्फबाट बढी उल्लंघन हुने देखिएको बताउनुहुँदै निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न सुझाव दिनुभयो ।

छलफलमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँशक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा (माले) का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, रामचन्द्र पौडेल, र सुवासचन्द्र नेम्वाङ, पशुपति शम्शेर जबरा, महन्थ ठाकुर, बुद्धिमान तामाङ, रामजनम चौधरी, प्रेम सुवाल र डा. मीनेन्द्र रिजाललगायत सहभागिता थियो ।