१ कार्तिक २०८३, आइतबार

एनआरएनमा रोमाञ्चक प्रतिस्पर्धा, जमुना घले र भवन भट्ट गुटमा को-को ?

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अध्यक्षका उम्मेदवारहरु क्रमशः जमुना गुरुङ घले, भवन भट्ट र टीबी कार्की

काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली संघ एनआरएनका बहालवाला अध्यक्ष शेष घलेकी धर्मपत्नी समेत रहेकी जमुना गुरुङ घलेले उम्मेदवारी घोषणा गरेपछि काठमाडौँमा जारी एनआरएनको विश्व सम्मेलनले नयाँ मोड लिएको छ ।

‘पर्ख र हेर’को रणनीतिमा रहेकी जमुनाले अन्ततः बिहीबार उम्मेदवारी घोषणा गरिन् । चुनावमा जित्ने निश्चित देखेपछि जमुना अघि बढेकी हुन् । एनआरएन आइसीसी सदस्य समेत रहेकी जमुना अष्ट्रेलियाकी सफल व्यवसायी हुन् । हक्की स्वभावकी जमुनाले यसअघि आफ्ना पति शेषको कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । विगत पाँच बर्षदेखि एनआरएनका हरेक गतिविधिमा समर्पित रहँदै आएकी जमुनाले जित्नेमा उनको टिम ढुक्क देखिएको छ । अहिलेसम्म जमुनाको टिमबाट उपाध्यक्षमा अमेरिकाका खगेन्द्र जिसी र बेलायतका कुल आचार्य लड्ने सम्भावना देखिएको छ ।

यसैगरी, महिला उपाध्यक्षमा रञ्जु वाग्ले वा रजनी प्रधान, महासचिवमा त्रिलोक गुरुङ (याम), कोषाध्यक्षमा बेलायतका मुछेत्र गुरुङ देखिएका छन् । नेपाली काँग्रेसको जनसम्पर्क समिति, एमालेको प्रवासी नेपाली मञ्च र जनजातिको भोट पाउनेमा जमुना समूह विश्वस्त छ । जमुनाको उम्मेदवारीपछि प्रतिनिधि संख्या दुई हजार पुग्ने देखिएको छ । अहिलेसम्म करिब १७ सयको हाराहारीमा प्रतिनिधि आउने देखिएको थियो । तर, चुनाव पक्का हुने भएपछि जमुना पक्षका थप प्रतिनिधि पनि आउने भएका छन् ।

अध्यक्षमा यसअघि नै उम्मेदवारी घोषणा गरेका भवन भट्ट पनि आफ्ना पक्षका प्रतिनिधिलाई जसरी पनि काठमाडौँमा उतार्ने मिशनमा लागेका छन् । तर, भट्टलाई टिम मिलाउनै आपत परेको छ । भट्ट टिमबाटै उपाध्यक्ष लड्न खोजेका यूकेका कुल आचार्य जमुना समूहमा पुगेका छन् । कुलकै अति नै विश्वाशिलो मानिएका एनआरएनका वर्तमान सचिव तथा महासचिवका दाबेदार अर्जुन श्रेष्ठ पनि ‘पर्ख र हेर’को अबस्थामा छन् ।

भट्ट समूहबाट उपाध्यक्षमा कुमार पन्त र अमेरिकाका सोनाम लामा आधिकारिक उम्मेदवार बन्ने पक्कापक्कीझैँ देखिएको छ । महिला उपाध्यक्षमा सपिला राजभण्डारीको चर्चा छ ।

उपाध्यक्षका दादेबार जर्मनीका पुष्प थापा र कतारका नरेन्द्र भाट कुन समूहमा लाग्ने भन्ने निधोमा पुगेका छैनन् ।

यसैगरी, भटट् समूहबाट महासचिवमा डा. बद्री केसी वा अर्जुन श्रेष्ठ, सचिवमा डीबी क्षेत्री र जर्मनीका सन्तोष भट्टराईको सम्भावना देखिएको छ । श्रेष्ठलाई सचिव दोहोर्याउन दबाब छ । तर, उनी सचिव दोहोर्याउने पक्षमा देखिएका छैनन् । श्रेठलाई सचिवमा दोहोर्याएर भट्टराईलाई कोषाध्यक्ष बनाउने सम्भावना बलियो छ ।

सचिवमा गंगा राई, महेन्द्र लम्साल, गणेश केसी, जानकी गुरुङ पनि उम्मेदवार देखिएका छन् । गंगा राई र जानकी गुरुङ जमुना समूहमा रहेको बताइएको छ ।

वर्तमान कोषाध्यक्ष हिक्मत थापा पनि दोहोर्याउने पक्षमा देखिएका छन् । उनी भट्ट समूहमै रहने सम्भावना छ । सहकोषाध्यक्षमा डेनमार्कका सोम सापकोटाको चर्चा छ । उनले कुन टिममा लाग्ने निधो गरिसकेका छैनन् ।

क्षेत्रीय संयोजकहरु मिलाउन पनि लफडा देखिएको छ । अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पा, गौरी जोशी र श्री पराजुलीको चर्चा छ । उपसंयोजकमा क्यानडाका सुमन लम्साल, अमेरिकाका दिल श्रेष्ठ र नवीन शेरचनको सम्भावना छ ।

युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका शिव बरुवाल, स्वीजरल्याण्डका डा. विनय श्रेष्ठ, बेलायतका थर्क सेनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । जर्मनीका दावा जी. शेर्पा, बेल्जियमका प्रेम गुरुङ, बेल्जियमकै गंगाधर गौतम, होल्याण्डका हरि पौडेलको पनि चर्चा छ । युरोप उपक्षेत्रीय संयोजकमा इटलीका सञ्जय देव श्रेष्ठले उम्मेदवार दिँदैछन् ।

एसिया प्यासिफिक संयोजकमा जापानका गोविन्दप्रसाद श्रेष्ठको चर्चा छ ।

यसैगरी, मध्यपूर्व संयोजकमा कतारबाट आरके शर्माले उम्मेदवार छन् । उनीसँग साउदी अरबका धरम केसी भिड्ने भएका छन् ।

टीबी कार्की निर्णायक बन्लान ?

अध्यक्षमा कतारका व्यापारी टीबी कार्की पनि उम्मेदवार छन् । उनी एनआरएनका पूर्वउपाध्यक्ष हुन् । अघिल्लोपटक अध्यक्षमा लडेका उनी शेष घलेसँग पराजित भएका थिए । उनले अहिलेसम्म उम्मेदवारी दिने बताउँदै आएका छन् । यद्यपि कार्कीलाई उम्मेदवारी फिर्ता लिन चर्को दबाब छ । तर, उम्मेदवारी फिर्ता भए उनको भोट निर्णायक हुने सम्भावना छ । कार्कीसँग गल्फको केही भोट छ । उनी व्यक्तिगत रुपमा भवनसँग भन्दा पनि जमुनासँग नजिक देखिएका छन् ।

स्थापनादेखि नै एनआरएनका अभियन्ता रहेका जापानका सफल व्यवसायी भवन भट्टलाई उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, पूर्वउपाध्यक्ष उपेन्द्र महतो र जीवा लामिछानेको दह्रो समर्थन देखिएको छ । जुन एनआरएनभित्र ठूलो हिस्सा हो ।

किन अघि सरिन् जमुना ?

जमुनाले शुभेच्छुकहरुको चौतर्फी दबाब, एनआरएनमा बढेको धुव्रीकरण र शेष घलेको कार्यकालमा सुरु भएका लोकप्रिय योजना अलपत्र पर्ने संकेत देखेपछि आफू अध्यक्षमा लड्ने निष्कर्षमा पुगेको बताएकी छिन् ।

शेष घलेको कार्यकालमा सुरु भएका एनआरएनको कार्यालय भवन, लाप्राक एकीकृत वस्ती निर्माण र भिजन ट्वान्टी ट्वान्टीका विषयमा यतिबेला एनआरएनभित्रै चर्को विवाद छ । ‘शेष घलेको अवधिभर कतिपय विरोध गर्नमै व्यस्त भए, कतिपय चाँहि एनआरएन भवन र लाप्राक बस्तीमा पुगेर सेल्फी खिच्दै जस पाउनतिर लागे । तर, साँचो रुपमा सहयोग गर्नेहरुको सानो संख्या हुँदा पनि शेष घलेको नेतृत्वले नेपालमा एनआरएनको छविलाई उच्च बनाएको छ । परोपकारी कार्यमा पनि एनआरएनको शाख उच्च भएको छ ।,’ घलेको सचिवालय स्रोतले दैनिक नेपालसँग भन्यो – ‘तर, एनआरएनको आइसीसीमा रहेका धेरैको ध्यान चुनाव आएपछि पद हडप्नेमात्रै देखियो । साँचो अर्थमा काम गर्नेहरु धेरै कम छन् । शेषजीको खासै नचाहँदा नचाहँदै पनि जमुनाजी चुनाव लड्नुपर्ने परिस्थिति आइलाग्यो ।’

तर, असन्तुष्ट पक्षले भने अतिमहत्वपूर्ण मानिएका यी विषयमा एनआरएनका आधिकारिक बैठकहरुमा छलफल नै नभएको दाबी गरेको छ । सोहीकारण अध्यक्ष घले र महासचिव डा. केसीबीच केही टसल समेत देखिएको छ । घलेले आफूलाई पेलेको र विधिप्रक्रियालाई मिचेको केसीको आरोप छ । घलेले एकलौटी गरेको भन्दै पूर्वअध्यक्षहरु डा उपेन्द्र महतो र जीवा लामिछानेले पनि डा. केसीलाई साथ दिइरहेका छन् । सोहीकारण पनि एनआरएनभित्र तीव्र धुव्रीकरण देखिएको छ । विवाद कतिसम्म छ भने एनआरएनको बैठक बिहीबार दुईपटक बोलाएर पनि अन्तिममा स्थगित भएको छ ।

तुलनात्मक रुपमा नेपालमा लगानी आउन नसके पनि नेपाली भन्ने भावना विदेशमा निकै बढेको छ । तर, विदेशी नागरिकता लिएका र आफूलाई अल्पसंख्यक आप्रवासी भन्दै विदेशी भूमिमा अधिकारको खोजी गरिरहेकाहरु नै एनआरएन भित्र भने जात, पैसा र पार्टीको चर्को खेलमा लागेका छन् । यो फोहोरी खेलले यसपालि एनआरएनलाई दुर्गन्धित बनाउने देखिएको छ ।