२९ आश्विन २०८३, बिहिबार

सम्बन्धविच्छेद गर्न पतिले यसरी झुक्याए..

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

divorce-love-buda-budi

पाल्पा । तानसेन-९ पद्मेटारीका २४ वर्षीय शिवप्रसाद न्यौपाने र २१ वर्षीया सविताकुमारी वस्ती एउटै छाता ओढेर, हाँस्दै, गफ गर्दै अदालत पुगे। अदालतका कर्मचारीले पनि अनुमान गरेका थिएनन् यसरी हाँस्दै आएका दम्पतीले सम्बन्धविच्छेदका लागि निवेदन देलान् भन्ने। तर तीन महिनाअघि बिहे गरेका यी दम्पतीले अस्वाभाविक ढंगमा सम्बन्धविच्छेद गरेपछि अहिले धेरैका लागि टाउको दुखाइ बनेको छ।

सविताका अनुसार सम्बन्धविच्छेदको कागज बनाउँदा कानको अपरेसन गर्न सजिलो हुने भन्दै झुक्याएर शिवले यस्तो गर्न लगाएका हुन्। कानको उपचार हुने आसमा सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेको उनले बताइन्। उनी दायाँ कान कम सुन्छिन्। शिवले यही वैशाख २३ गते झुक्याएर सम्बन्धविच्छेद गराएका हुन्। आफूले भोलिपल्टमात्र त्यसबारे थाहा पाएको सविताले बताइन्। उनीहरूको बिहे गत माघ १५ गते भएको थियो।

सविताकी आमा सीता वस्तीले भनिन्, ‘छोरी २४ गते साँझ माइत आई। खाना पस्किँदै गर्दा आमा कानको अप्रेसन गर्न मैले अदालतबाट सम्बन्धविच्छेदको कागज बनाएँ। अब मेरो कानको अप्रेसन हुने भयो भनी।’ छोरीले त्यसो भनेपछि आफूलाई शंका लागेको र सबै कुरा सोधेपछि फकाएर सम्बन्धविच्छेद गराएको पत्ता लागेको उनले बताइन्।

जिल्ला अदालत पाल्पाका एक कर्मचारीले भने, ‘दुवैजना हाँस्दै एउटै छाता ओढेर आएका थिए। मैले नानीसँग साँच्चिकै सम्बन्धविच्छेद गर्ने हो त भनेर सोध्दा उनी मुस्कुराइन्। मानौं उनको मनमा पतिले आफूलाई छोड्लान् भन्ने डर थिएन।’

झुक्याएर सम्बन्धविच्छेद गराएको थाहा पाएपछि सविताका माइती पक्ष शिवलाई खोज्दै पाल्पा आए। तर अदालतले सम्बन्धविच्छेदलाई स्वीकृति दिएको भन्दै शिवले सवितालाई नराख्ने अडान लिए। पतिबाट फसाइएकी सविता कानुनी उपचार र न्याय खोज्दै चार दिनदेखि सदरमुकाममा धाइरहेकी छन्।

तीन महिनासम्म सम्बन्ध सामान्य रहे पनि अहिले शिवले आफ्नी छोरीलाई नाटक रचेर फसाएको सविताका बाबु लेखनाथ वस्तीले बताए। १२ कक्षा उत्तीर्ण सविता अत्यन्त सोझी रहेको कानुन व्यवसायी लालु रानाले बताइन्।

‘मलाई झुक्याएर गरेको किर्ते कामलाई कानुनकै सहायता लिएर उल्टाउँछु। आज मलाई भयो, भोलि मजस्तै अरूलाई पनि हुन सक्छ’, सविताले भनिन्, ‘मलाई किर्ते गरेर झुक्याउने पतिमाथि कारबाही होस्। त्यसपछि भने म ऊसँग बस्दिनँ।’

परिवारका सदस्य र छिमेकीका अनुसार विवाहपछि उनीहरूबीच देखिने गरी भने कुनै असमझदारी थिएन। पतिपत्नी दुवै राजी भएर निवेदन दिएपछि जिल्ला अदालत पाल्पाले सम्बन्धविच्छेदलाई स्वीकृति दिएको अन्नपूर्ण पोष्टमा खबर छ ।

पाल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी निरञ्जन ज्ञवालीले कानुनी रूपमा अदालतले गरेको निर्णयमाथि आफूले केही गर्न नसक्ने बताए। पाल्पाका निमित्त प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले भने, ‘अदालतबाट निर्णय भएको विषयमा हामीलाई बोल्ने अधिकार छैन।’

शिवले फकाएर सम्बन्धविच्छेद नगराएको दाबी गर्दै माइती पक्षलाई यसबारे जानकारी नगराउनु भने आफ्नो गल्ती भएको स्वीकार गरे। उनले भने, ‘गल्ती भइहाल्यो, मैले के गर्नुपर्छ म तयार छु। दाइजो, माइती पक्षबाट आएका गरगहना र गच्छेअनुसार क्षतिपूर्ति दिन म तयार छु।’

यससम्बन्धी विवाद चर्कंदै गएपछि आइतबार सदरमुकाम तानसेनमा दुई पक्षबीच छलफल गराइएको थियो। शिवको मागबमोजिम सोमबार बिहान ८ बजे फेरि छलफल गर्ने सहमति भएको थियो। तर सोमबार उनी नआएपछि माइती पक्षले जिल्ला अदालत घेराउ गरी शिवलाई उपस्थित गराउन माग गरेका छन्।