काठमाडौँ, २४ कात्तिक । लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तले ठूला आयोजना अगाडि बढाउन क्रियाशील रहेको बताउनभएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिको सिंहदरबारमा सोमबार बसेको बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले बोर्डसँग परियोजना विकास सम्झौता गरेका प्रवद्र्धकले दुई वर्षभित्र परियोजना सुरु नगरे उक्त सम्झौता खारेज हुने प्रावधान रहेका कारण आगामी दिनमा कुनै पनि आयोजनामा ढिलाइ नहुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको क्षमता नभएका कारण ठूला परियोजनाहरु आफैं अगाडि बढाउन नसक्ने र लगानीको मात्रामा पनि वृद्धि गर्न नसक्ने भएकाले वैदेशिक लगानीको जरुरत रहेको उहाँको कथन थियो ।
बोर्डका कार्यकारी अधिकृत पन्तले मुलुकका बैंक तथा वित्तीय संस्थामा रु एक खर्ब मात्रै मौज्दात रहेका कारण ठूला लगानी गर्न नसकिएको धारणा राख्नुभयो ।
पश्चिम सेती जलविद्युत् आयोजनाको काम केही समयभित्रै अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले राजनीतिक वातावरण नबिग्रने र सरकार परिवर्तन हुनेबित्तिकै नीति तथा योजनाहरु परिवर्तन नहुने हो भने आगामी १० वर्षभित्र मुलुकले आर्थिक समृद्धि हासिल गर्ने धारणा राख्नुभयो ।













प्रतिक्रिया