२ कार्तिक २०८३, सोमबार

मधेसको अर्काे दल पनि सूर्य चिन्हमा चुनाव लड्ने, चुनावपछि एमालेमा विलय हुने

20.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २२ असोज । अगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मूलवासी मुक्ति पार्टीले नेकपा (एमाले) को चुनाव चिह्न (सूर्य)बाट चुनाव लड्ने भएको छ ।

एमाले र मूलवासी मुक्ति पार्टीबीच भएको सहमतिअनुसार मूलवासी मुक्ति पार्टीका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने र चुनावपश्चात् मुक्ति पार्टी एमालेमा समावेश हुनेछन् ।

दुवै दलबीच अगामी प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट मूलवासी मुक्ति पार्टीका अध्यक्ष मोहम्मद इस्लाम सूर्य चिह्नबाट प्रत्यक्षतर्फ चुनाव लड्ने सहमति भएको नेकपा एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए ।

यसअघि राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठी समूह, नयाँ शक्ति नेपाल र परिवार दलले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने घोषणा र सहमति गरिसकेका छन् ।

ओलीको नाम क्षेत्र नम्बर एकबाट सर्वसम्मत सिफारिस

यस्तै, एमाले सिरहाले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए ।

यस्तै एमालेको क्षेत्रीय कमिटीले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेशसभा क्षेत्र नं २ बाट अशोक यादवको नाम सिफारिस भएको एमाले सिरहाले जनाएको छ ।

प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस हुन नसकेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले जानकारी दिए ।

नयाँ संरचनाअनुसार कायम भएको सिरहा निर्वाचन क्षेत्र नं १ मा लहान नगरपालिकासहित सखुवा ननकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, धनगढी नगरपालिकाको केही वडा र लक्ष्मीपुर पतारी गाउँपालिकाको केही वडा समेटिएको छ ।