चन्द्रौटा, १८ असोज । परम्परागत संस्कृतिको जगेर्ना गर्न कपिलवस्तुको चन्द्रौटामा वृहत सरायँ जात्रा निकाली फूलपाती विसर्जन गरिएको छ ।
जातीय सद्भाव कायम गर्न गत २०६४ सालबाट कपिलवस्तुको चन्द्रौटामा सरायँ जात्राको शुरुवात गरिएको हो । हिन्दूहरुको महान पर्व वडादशैंको त्रयोदशीको अवसरमा हरेक वर्ष चन्द्रौटाबासीले वृहत सरायँ नाच सहित खड्ग जात्रा निकाल्दै आएका छन् ।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा सुखशान्ति, समृद्धिका लागि सरायँ जात्रा निकाल्ने गरिएको मानवअधिकारकर्मी विष्णुप्रसाद खतिवडाले बताउनुभयो ।
विगत १० वर्षदेखि चन्द्रौटास्थित दुर्गा मन्दिरबाट निकाल्न शुरु गरिएको सरायँ जात्रालाई निरन्तरता दिंदै यसवर्ष ११औं पटकको सरायँ जात्रा भव्य रुपमा सम्पन्न भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष पारसमणि पाण्डेयले जानकारी दिनुभयो ।
दुर्गामन्दिरबाट पञ्चेबाजाको तालमा जनमानसको ठूलो हूल तरबार, खुँडा, खुकुरी र हतियार सहित सरायँ नाच नाच्दै मालपोत कार्यालयको बाटो भएर कर्णेश्वरी हुँदै चन्द्रौटा बजार परिक्रमा गरिएको दुर्गामन्दिर व्यवस्थापन समिति उपाध्यक्ष एवं सरायँ व्यवस्थापन समिति संयोजक रामप्रसाद पौडेलले बताउनुभयो ।
टोलीले दुर्गा मन्दिर र कर्णेश्वरी मन्दिरमा चढाइएको फूलपाती उठाई सरायँ खेल्दै नजिकैको जवई खोलामा लगी विसर्जन गरिएको पौडेलले भन्नुभयो ।
तरवार, खुँडा, खुकुरी र हातहतियार लिएर पञ्चेबाजाको तालमा नाचिने सरायँ नाचमा देबीहरुको प्रतिकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार, खुँडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देवी खुशी हुने जनविश्वास छ ।
देबीले महिसासुर र सुम्भको बध गरेको दिन बिजयादशमीको दिनदेखि नाचिने यो नाच खुशियालीमा नाच्न थालिएको शिवराज नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अर्जुन प्रसाद पाण्डेयको भनाई छ ।
सरायँ नाच पहाडी जिल्लामा बढी प्रचलित रहेपनि विगत केही वर्षयता कपिलवस्तुका बासिन्दाले समेत परम्परागत संस्कृतिको रुपमा रहेको सरायँको जगेर्नामा लागेका हुन् ।













प्रतिक्रिया