
काठमाडौं, १७ असोज । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले एमालेसँग ६०–४० को भागबण्डा गर्ने सहमति भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले एमालेले माओवादी केन्द्रलाई हरेक ठाउँमा चालीस प्रतिशत दिन सहमत भएको जनाए । ‘एमालेसँग पहिला चुनावी तालमेल हुन्छ’, उनले भने, ‘त्यसपछि मात्रै पार्टी एकीकरण हुने हो । अहिले नै पार्टी एकीकरण हुने होइन ।’
नेता रायमाझीले भने, ‘एमालेले प्रदेश र संसद निर्वाचनमा एमालेले माओवादी केन्द्रलाई ४० प्रतिशत सिट दिने सहमति गरेको छ । सहमति अनुसार एमालेले ६० प्रतिशत पाउँछ ।’
माओवादी केन्द्रका नेता रायमाझीले छिटोभन्दा छिटो एमाले–माओवादी केन्द्रको चुनावी सरकार बन्ने बताए । उनले भने, ‘कांग्रेस सरकारमा आउन चाह्यो भने आउँछ होइन भने एमाले र माओवादी तथा साना दलहरू मिलेर सरकार बनाउने छौँ ।’
निर्वाचनको मिति नजिक आइसकेको भन्दै नेता रायमाझीले भने, ‘सरकार परिवर्तन गर्न ढिला गर्नु हुँदैन । केही दिनभित्रै सरकार ढल्छ । नयाँ सरकार बन्छ ।’
नेता रायमाझीले एमालेको सहयोगमा अबको प्रधानमन्त्री पुष्पकमल दाहाल बन्ने दाबी गरे । उनले भने, ‘सहमति भए अनुसार देउवा सरकार ढल्यो भने प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो ।’















प्रतिक्रिया