जोगबुडा, १६ असोज । नेपाली काँग्रेस नै असली राष्ट्रवादी शक्ति भएको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताएका छन् । अध्यक्ष महरले एमालेको अन्धराष्ट्रवाद र मधेस केन्द्रित दलको अतिवादलाई नेपाली जनताले स्थानीय तहको निर्वाचन मार्फत अस्वीकार गरेको स्मरण गराउँदै मुलुकमा काँग्रेस नै असली राष्ट्रवादी पार्टी भएको बताए ।
सोमबार जोगबुडामा भएको कार्यक्रममा बोल्दै उनले आसन्न निर्वाचनमा आम नेपालीले काँग्रेसलाई सातवटै प्रदेश र केन्द्रमा स्थापित गरेर मुलुकलाई स्वाभिमानी र विकासको पथमा लम्काउन लाग्नुपर्ने आग्रह गरे । मिन बहादुर थापा मेमोरियल फाण्डेसनले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७४ लाई सम्बोधन गर्दै अध्यक्ष महरले खेलकुद क्षेत्रलाई प्रभावकारी बनाउनु आजको आवश्यकता भएको धारणा राखे ।
अध्यक्ष महरले मानिसको सबैभन्दा ठूलो धन स्वास्थ्य भएको भन्दै जुनसुकै मानिस स्वस्थ रहन खेलकुद र व्यायाम अति आवश्यक भएको बताए । अध्यक्ष महरले आधारभूत तहदेखि नै पाठ्यक्रममा स्वास्थ्य र सारीरिक बिषयलाई प्रभावकारी रूपमा पठन पाठन गराउनुपर्ने बताए । यसलाई लागू गर्न आफू सम्बद्ध पार्टी काँग्रेस टड्कारो रुपमा लागेको उनले बताए ।
सासंद नरभान कामीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा परशुराम नगर नगरपालिकाका प्रमुख भिमबहादुर साउँद विशिष्ट अतिथि थिए । उद्घाटन समारोहमा बोल्दै महरले अरुलाई औंला ठड्याउने तर आफू केही पनि नगर्ने बानीले व्यक्ति, समाज र देशको उन्नती नहुने बताए ।













प्रतिक्रिया