
काठमाडौँ, १६ असोज । सप्तरीमा नेपाली सिमा बचाउन वीरतापूर्वक लडेका देवनारायण यादवलाई भारतीय प्रहरीले अनाहकमा पक्राउ गरेको २४ घण्टा बितिसक्दा पनि नेपाल सरकार मौन देखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्माले अहिलेसम्म यादवलाई छुटाउन कुनै पहलकदमी लिएका छैनन् । सिमामा भारतीय प्रहरीले नेपालीमाथि पटकपटक दुःख दिने गरेको छ । गतबर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले एकतर्फी रुपमा बाँध बनाउन खोजेपछि देवनारायणको नेतृत्वमा गाउँलेहरुले प्रतिकार गरेका थिए । सोको बदला लिँदै भारतीय प्रहरीले आइतबार उनी र उनका छोरासहित तीन जनालाई पक्राउ गरेको छ । तर, नेपाल सरकारले अहिलेसम्म यसविषयमा मुख खोलेको छैन् ।
जबकी प्रतिपक्षी नेकपा एमालेले देवनारायणलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल रिहा गर्न र नेपाली जनतासमक्ष माफी माग्न माग गरिसकेको छ । यसैगरी, सत्तारुढ दल माओवादीले पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ । तर, घटनाका विषयमा माओवादीबाटै गृहमन्त्री बनेका जनार्दन शर्माले मौनता साँधेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसबारेमा चासो देखाएका छैनन् । सरकारले पहलकदमी नलिएको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ ।















प्रतिक्रिया