२ कार्तिक २०८३, सोमबार

प्रचण्डले दशैं टीका लगाउँदा माओवादीमा खैलाबैला, प्रकाशले गरे नारायणकाजी समूहको प्रतिवाद

28.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २२ वर्षपछि पहिलोपटक दशैं टीका लगाएपछि पार्टीभित्रै उनको आलोचना सुरु भएको छ ।

माओवादी केन्द्रका नेता आहुतीले सामाजिक संजालमा प्रचण्डले टिका ग्रहण गरेको घटनालाई ब्यंग्यात्मक आलोचना गरेका छन् । उनले लेखेका छन्– ‘कमरेड प्रचण्डलाई टिका लगाएकोमा गाली किन गर्ने ? उहाँको चेतनाले जे भ्यायो त्यही गर्नु भो । उहाँले टिका लगाएकोमा खुशी मनाउनेसंग किन रिसाउने अनि ? आफू जस्तै भएकोमा खुशी व्यक्त गर्नु मानवीय स्वभाव हो । आगामी दिनको मुख्य कुरा यो होइन बरू मुख्य कुरा त तपाई आफूले चाँहि के गर्ने हो ? यस विषयमा पो हो छलफल जरूरी ।’

त्यस्तै, पूर्व विद्यार्थी नेता जागृत रायमाझीले प्रचण्डलाई कडा ब्यंग्य गर्दै लेखेका छन्– ‘क्रान्ति मौलिक । प्रतिक्रान्ति पनि मौलिक । साँस्कृतिक क्रान्ति मौलिक । साँस्कृतिक प्रतिक्रान्ति पनि मौलिक ।’ प्रचण्डलाई ब्यंग्य गर्ने दुवै नेता पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ समूहमा आबद्ध छन् ।

यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक नेताले प्रचण्डको पछिल्लो कदमले ‘स्वर्गमा रहेका मार्क्स, लेलिन र माओले लाजले टाउको निहुराउनुपर्ने अबस्था’ आएको होला भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

उनले भनेका छन्– ‘हिन्दू पर्व दशैंमा कमरेड प्रचण्डले धार्मिक टिका लेनदेन गरेको तस्वीर सञ्चारमा देख्दा २०४८ साल तिरको त्यो घटना याद आयो, भूमिगत प्रचण्ड र म हिड्दै गर्दा एउटा मन्दिरमा पूजा गर्ने अवस्थामा तत्कालीन माले नेता मोहनचन्द्र अधिकारीले पेटी खोल्दै गरेको देखिनु भो । …गर्नेलाई भन्दा देख्नेलाई लाज भन्दै प्रचण्ड फर्किनु भो । आज प्रचण्डलाई धार्मिक रुझानमा देखेपछि यो धर्तिमा त के स्वर्गमा बसेका मार्क्स, एंगेल्स, लेनिन, स्तालिन, माओ सबैले लाजले टाऊको फर्काएको हुनुपर्छ । अर्थ नबुझ्ने वा अवसरवादीका लागि यो बिषयमा के सरोकार भयो र ?’

यसरी पार्टीभित्र र बाहिरबाट प्रचण्डको आलोचना भएपछि उनका स्वकीय सचिव एवं छोरा प्रकाश दाहालले आफू झरेको सिन्का नउठाउने तर, प्रचण्डलाई उपदेश दिने भन्दै कडा जवाफ फर्काएका छन् । उनले दशै धर्मभन्दा पनि संस्कृति भएको तर्क गरेका छन् ।

प्रकाशले भनेका छन्– ‘आफू झरेको सिन्का नउठाउनेले प्रचण्डलाई उपदेश दिनुको कुनै तुक देख्दिन म । दशै धर्म भन्दापनि संस्कृतिको कुरा हो । समाजमा एकता भाईचारा र समाजको ठुलो जमातको भावनाको कुरापनि छ । हामी ईदको अवसरमा मश्जिदपनि गएका छौ, चर्च गएका छौं, गुम्बा त प्राय गईरहेका हुन्छौं । धर्म र संस्कृति फरक हो । एउटा जब्बर कुरो के हो भने हामी सबै धर्मलाई उतिनै सम्मान गर्छौं । देश धर्मनिरपेक्षतामा गईसकेको छ । दशैको टिका लगाउदैमा प्रचण्डलाई ठोक्ने मौका यहि हो भनेर उपदेश नदिंदा ठिक ।’