काठमाडौं, १२ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता नमानेकोबारे प्रधानमन्त्री, मन्त्रीसहित सबै शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर बृहत्त छलफल गर्ने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने बताए । उनले भने, ‘कानून सबैले मान्नुपर्छ, प्रभावकारी रुपमा कानुन मान्नुपर्छ, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।’
उनले स्थानीय तहको निर्वाचनमा सरकारबाटै आचारसंहिता उल्लंघन भएको गुनासो पोखे । यादवले भने, ‘सरकारले आचारसंहिता उल्लंघन गरेको कुरा जनताले हेरिरहेका छन्, यो विषय मिडियाले पनि हेरिरहेको छन्, अबतपाई पत्रकार मित्रहरुले पनि उहाँहरुलाई बोलाएर सोध्नुपर्यो नि, हुन त जनतापनि यसको साँक्षी बनेका छन् ।’ सरकारले आचारसंहिता उल्लंघन गरेर गम्भिर गल्ती गरेकोमा आपत्ति प्रकट गर्दै उनले यसको परिणाम कुर्न चेतावनी दिए ।
निर्वाचन आचारसंहिता उल्लंघनमा सरकार नै संलग्नभयो निभन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा यादवले भने, ‘ऋषि जी तपाईले जुनप्रश्न उठाउनुभएको छ यसको लागि म तपाईलाई धन्यवाद दिन चाहन्छु, अब सबैलाई एकै ठाउँमा राखेर हामीआचारसंहिता उल्लंघनबारे बृहत्त छलफल गर्छौं ।’ त्यस्तै उनले निर्वाचन आचारसंहिता सम्बन्धी रिपोर्टर्स क्लबले प्रभावकारी बहस गरेको भन्दै धन्यवाद समेत दिए ।
यादवले भने, ‘सरकारबाट आचारसंहिता पालनाबारे जे–जे भए यी दुःखद् घट्ना हो, मन्त्रीपरिषद विस्तार नगर्नुहोस् भन्दाभन्दै उहाँहरुले गर्नुभयो, अब निर्वाचन हुन दिनुहोस् न, हुन त १०० सय जना पुर्याएपनि पुर्याउनु, तर निर्वाचन नबिथोलियोस् ।’
आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चाहिने आवश्यक कानून तथा ऐनहरु आयोगले पाइसकेको समेत उनले जानकारी दिए । उनले भने, ‘हामीले कानून पाइसकेका छौं ।’ त्यस्तै उनले संसदको म्याद अझै भएकोले यो बीचमा राष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनको लागि चाहिने कानूनपनि समयमै आउने विश्वास दिलाए ।
आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा आयोग जुटिसकेको बताउँदै यादवले भने, ‘आयोग व्यवस्थापकीय तयारीमा जुटिसकेको छ ।’ अब हुने निर्वाचनमा राष्ट्रिय स्तरका नेताहरु उम्मेद्धवार बन्ने भएकोले आचारसंहिताको पूर्ण पालना हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
त्यस्तै उनले यो वर्षको दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई निर्वाचन पर्वको रुपमा मनाउनुपर्ने बताए । उनले भने, ‘यो वर्ष निर्वाचनमय वर्ष हो, सबैले निर्वाचनलाई पर्वको रुपमा मनाउनुपर्छ ।’












प्रतिक्रिया