
काठमाडौं, १२ असोज । स्थानीय तहको निर्वाचनबाट अन्ततः नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
तीन चरणको चुनावबाट एमाले देशकै पहिलो राजनीतिक शक्तिका रुपमा उदाएको हो । नेकपा एमालेले २९४ स्थानीय तह जितेको छ ।
सत्तारुढ काँग्रेस २६६ स्थानीय तह जितेर दोस्रो पार्टी बनेको छ । एमालेले काँग्रेस भन्दा २८ स्थानीय तह बढी जितेको छ भने माओवादीले भन्दा १९० सिट बढी जितेको छ । स्थानीय तहको चुनावमा तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रले १०६ स्थानीय तह जितेको हो ।
प्रदेश नम्बर २ मा दोस्रो शक्ति बनेको संघीय समाजवादी फोरमले देशभर ३० सिट जितेको छ । यसैगरी, राजपा २५, लोकतान्त्रिक फोरम ९ र अन्यले २३ तह जितेका छन् ।
देशभरको नतिजा अनुसार, नेकपा एमालेले ५ वटा प्रदेश र काँग्रेसले दुई वटा प्रदेशको नेतृत्व लिएको छ । प्रदेश नम्बर २ र ४ मा मात्र काँग्रेस पहिलो पार्टी बनेको हो ।
नेकपा एमालेलाई हराउन ठाउँ-ठाउँमा सत्तारुढ नेपाली काँग्रेस र माओवादीको मोर्चाबन्दी भएको थियो । कतिपय ठाउँमा संघीय समाजवादी फोरम पनि एमालेविरुद्धको मोर्चामा थियो । राजपा र छिमेकी भारत समेत एमालेप्रति अनुदार देखिएको थियो । मधेश केन्द्रीत पाँच वटा दललाई जोडेर राजपा बनाउने भारतकै रणनीति थियो । एमाले र माओवादीको गठबन्धन टुटाएर काँग्रेस-माओवादीको गठबन्धन बनाइदिन पनि भारतकै भूमिका रहेको बताइन्छ ।
तर, सबै घेराबन्दीलाई तोड्दै एमाले पहिलो पार्टी बनेको छ । प्रदेश नम्बर २ मा पाँचौ बनेपनि लोकप्रिय मतका हिसाबले एमाले दोस्रो बनेको छ ।











प्रतिक्रिया