२१ कार्तिक २०८३, शनिबार

बाढीपीडितलाई सहयोग गर्ने ३५ जनालाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, ८ असोज । बाढीपीडितहरुलाई राहत सहयोग गर्ने ३५ जनालाई रेडियो शिवराज कपिलवस्तुले चन्द्रौटामा एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

गत साउन २७ गते रेडियो शिवराजको अगुवाईमा बाढीपीडितका लागि राहत संकलन गर्दा राहत प्रदान गरेका सहयोगी दाताहरुलाई रेडियोले सम्मान गरेको हो ।

रेडियो शिवराजले हिन्दूहरुको महान पर्व विजयादशमीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहयोग दाताहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको रेडियोका अध्यक्ष सुभाषचन्द्र जयसवालले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले रेडियोले गरेको सामाजिक कार्यको खुलेरै प्रशंसा गर्नुभयो ।

संचार माध्यमहरुले सधैं समाचार विज्ञापन र कार्यक्रम मात्र प्रशारण गर्ने गरेको भएपनि रेडियो शिवराजले बाढीपीडितलाई गरेको मानव सेवा प्रसंशनीय रहेको औल्याउनुभयो ।

रेडियो शिवराजले राहत संकलन गरी बाँकेका बाढीपीडितलाई हस्तानतरण गरेकोमा प्रमुख अतिथि अधिकारीले रेडियोको टिमलाई धन्यावाद दिनुभयो ।

उहाँले थोपा थोपाले सागर भरेझै थोरैथोरै संकलन गरी ठूलो परिमाणको राहत वितरण गर्न सफल भएकोमा आगामी दिनमा पनि यस्ता सामाजिक कार्यप्रति निरन्तर लाग्न सुझाव दिनुभयो ।

यसका साथै नगरप्रमुख अधिकारीले आउँदै गरेका महान पर्व विजया दशमी, शुभदीपावली, छठ, मोहरम लगायतका पर्वहरुको अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख उपसचिव मेघनाथ पाध्याले जिल्ला प्रशासन कपिलवस्तु र जिल्ला प्रशासन वाँकेको समन्वयमा बाँकेका बाढीपीडितहरुलाई राहत प्रदान गरी पीडितहरुको घाउमा मल्हम लगाउने काम गरेकोमा रेडियो शिवराजको टिमलाई धन्यबाद दिनुभयो ।

महिला अधिकारकर्मी मीना परियारले रेडियोको यो कार्य अन्य संघसंस्थाले पनि सिक्नुपर्ने बताउनुभयो । संचार माध्यम एउटा सामाजिक कार्य गर्ने संस्था भएकाले रेडियोको यो कार्य प्रसंशनीय योग्य रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल विन्ध्यावासिनी गण चन्द्रौटाका प्रहरी उपरीक्षक धर्मनन्द सापकोटा, चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष इश्वरी प्रसाद पाण्डेय, समाजसेवी सतिशचन्द्र गुप्ता, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराई, फरवान ईकवाल खान, रामनिवास पुरी लगायतले रेडियोलाई धन्यवादसहित शुभकामना मन्तव्य राखेका थिए ।

रेडियोले गत साउन २९ गते करीव ५ लाख वरावरको राहत सामग्री संकलन गरी रेडियोका कार्यकारी निर्देशक विजय जयसवालको नेतृत्वमा वाँकेको खजुरा गाउँपालिका वडा न २ का बाढीपीडितलाई वितरण गरेको थियो ।