४ कार्तिक २०८३, बुधबार

एनसेलको खुद नाफा ३५ प्रतिशत बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३५ प्रतिशत खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन आजियाटा गु्रप बर्हादले हालै सार्वजनिक गरको २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तिय प्रतिवेदनले यो कुरा जनाएको हो ।

प्रतिवेदन अनुसार, दोस्रो त्रैमासिकमा एनसेलको खुद नाफा मलेसियन रिङ्गेट २०.९८ करोड अर्थात रु ५.१४ अर्ब पुगेको छ । त्यसै गरी पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा कम्पनीको आय पनि ३.९ प्रतिशतले वृद्घि भएको छ ।

यसरी आम्दानी वृद्घि हुनुमा फोरजी सेवा संचालन पछि डाटा सेवामा भएको ११.५ प्रतिशतको वृद्घि र कम्पनीले ल्याएका विभिन्न अफरहरुको योगदान गरको आजियाटाले जनाएको छ । कम्पनीको संचालन मुनाफ पनि ३.५ प्रतिशतले बढेको छ । नेपालको एनसेल, क्याम्बोडियाको स्मार्ट र श्रीलंकाको डायलगको प्रमुख योगदानमा आजियाटा गु्रपकै संचालन मुनाफा १२.४ प्रतिशतले बढेको आजियाटाले जनाएको छ ।

अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा गिरावट आएपनि जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी र कम्पनीका विविध अफरहरुले गर्दा एनसेलको दोस्रो त्रैमासिकको आयमा सकारात्मक प्रभाव परेको आजियाटाले जनाएको छ ।

हाल एनसेलको फोरजी सेवा देशका विभिन्न १९ शहरहरुमा संचालनमा रहेकोे छ र कम्पनीले सस्तो दरमा सेवा प्रदान गर्न वान प्लान नामक अफर र न्युनतम २ पैसा प्रतिएमबि इन्टरनेट सेवा लिन सकिने नयाँ डाटा प्याकहरु प्रदान गर्दै आएको जनाएको छ ।

दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदन अनुसार, एनसेलको डाटा खपत गतवर्ष सोही समयको तुलनामा साढे दुई गुणाले बढेर ६८ लाख जिबी पुगेको छ । अघिल्लो वर्ष सोही अबधिमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी थियो । डाटा खपतमा वृद्घिसँगै कम्पनीको डाटाबाट हुने आयमा समेत १६.९ प्रतिशतले वृद्घि भएको आजियाटाले जनाएको छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा आयको योगदान १७.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन्

डाटाको ग्राहक संख्यामा भएको वृद्घि, तुलनात्मक रुपमा सस्तिएको डाटा शुल्क, स्मार्टफोनको प्रगोगमा वृद्घि लगाएतका कारणले पनि नेपालमा डाटा खपत बढ्दो क्रममा रहेको छ । एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रगोग गर्ने गरेका छन् ।

प्रतिवेदन अनुसार यो वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिग्राहक डाटा खपतमा पनि भारीे वृद्घि रहेको छ । समिक्षा अवधिमा एनसेलका डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग गरेका छन् । गत वर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६० एमबि थियो ।

पहिलो पटक एनसेलले जेठ १८ मा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । पहिलो चरणमा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याए पश्चात, सेवा विस्तार गर्दै हाल पुर्व देखि पश्चिमसम्म देशका विभिन्न १९ सहरमा फोरजी सेवा उपलब्ध गराउदै आएको छ र सन् २०१८ को अन्त्य सम्ममा देशको ४० शहरहरुमा यो सेवा पुर्याउने लक्ष्य रहेको बताएको छ ।