काठमाडौँ, २२ कात्तिक । सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ४९ हजार रुपैयाँमा कारोबार भयो ।
साताको पहिलो दिन आइतबार तोलाको ५० हजार रुपैयाँमा किनबेच भएको सुन त्यसपछि निरन्तर घट्दै आएको छ ।
संघका अनुसार सोमबार २ सय रुपैयाँ, मंगलबार र बुधबार एक–एक सय रुपैयाँले सुनको भाउ घट्यो । त्यसैगरी बिहीबार ५ सय रुपैयाँ र शुक्रबार एक सय रुपैयाँले सुनको भाउ घटेको संघले जनाएको छ ।
अमेरिकी संघीय बैंकले ऋणपत्र खरिद कार्यक्रमको अन्त्य भएको घोषणा गरेसँगै चुलिएको डलरको भाउको प्रभाव सुन चाँदीमा देखिएको व्यवसायीहरुको अनुमान छ ।
डलरको भाउ घटेसँगै लगानीकर्ता पहेँलो धातु छोडेर डलरमा ओइरिएपछि त्यसको प्रत्यक्ष प्रभाव सुनमा परको हो ।
सुनको मूल्यमा ओरालो लाग्ने क्रम नरोकिने हो भने आगामी केही महिनाभित्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४५ हजारसम्म ओर्लिन सक्ने आंकलन व्यवसायीहरुले गरेका छन् ।
नेपाली बजारमा चाँदीको भाउ पनि निक्कै घटेको छ । शुक्रबार चाँदी तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको संघले जनाएको छ ।













प्रतिक्रिया