हेटौँडा, २ असोज । मकवानपुर प्रहरीले बियर र ट्रकको वीमाको लाखौ रकम ठगी गर्ने उदेश्यले बनावटी दुर्घटना गराउने समूहलाई पक्राउ गरेको छ ।
टुबर्ग बियरको झण्डै ३७ लाख र ट्रक वीमा रकम लिने उदेश्यले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको जलबीरेस्थित त्रिशुली नदीमा ना.५ ख. ७२९७ नम्बरको ट्रकलाई खसालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विकास खनालले जानकारी दिए ।
तर, दुर्घटनाप्रति आशंका लागेर अनुसन्धान गर्दै जाँदा नक्कली दुर्घटनाको पर्दाफास भएको खनालले बताए ।
ट्रकलाई त्रिशुली नदीमा खल्नु अगाडि ट्रकमा रहेको १४ सयमध्ये १२ सय कार्टुन टुबर्ग बियर अर्को ट्रकमा राखेर चालक सन्तोष खत्रीले २ सय कार्टुनसहित ट्रकलाई त्रिशुली नदीमा खसालेको अनुसन्धानबाट खुलेको छ । ट्रक दुर्घटना गराउने स्थान हेर्न चालक खत्री र हेटौँडाका उज्जवल कँडेल जलबीरे पुगेका थिए ।
ट्रक भदौ २५ गते करिव साढे चार बजे नवलपरासी भेडाबारीस्थित गोर्खा ब्रुअरीबाट १४ सय कार्टुन टुवर्ग बियर काठमाडौंका लागि लिएर हिँडेको थियो । तर, उनीहरूले चितवनको गीतानगरमा नाम नम्वर थाहा नभएको अर्को ट्रकमा साँझ सात बजे १२०० कार्टुन हेटौँडा पठाएका थिए ।
त्यसपछि ट्रकलाई थानाभर्याभङमा लगेर राखी भोली पल्ट १२०० कार्टुन बियर हेटौँडा उपमहानगरपालिका वडा नं. २ नयाँ मनकामना रोड कुमारमणि दाहालको घरमा लुकाई राखेको एसपी खनालले बताए । सो वियरलाई पछि पदमपोखरीमा लुकाई छिपाई राखिएको थियो ।
ट्रक त्रिशुलीमा नाटकीय रुपमा दुर्घटना गराएपछि बीमा रकमको दाबी गर्दै चालक र नक्कली साहुले मुग्लिन प्रहरीमा निवेदन दिएका थिए । दुर्घटनाका सम्बन्धमा संका लागेर प्रहरीले अनुसन्धान थालेपछि चालकको योजना बाहिर आएको थियो ।
चालकले चोटपटक देखाउन चाकुले आफ्नो घुँडामा काटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले हेटौँडा– १३ पदमपोखरीस्थित मणि लामाको घरमा ५३७ कार्टुन र सोही स्थानका बुद्ध तामाङको घरमा ४२३ कार्टुन टुवर्ग बियर गरी जम्मा ९६० कार्टुनको मूल्य रु. ३७ लाख बराबरको बियर बरामद भएको एसपी खनालले बताए । ट्रक हालसम्म पनि त्रिशुली नदीमा रहेको छ ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका ५ बस्ने उज्वल कँडेल, हेटौँडाकै सन्तोष खत्री, नक्कली साहु निर्मल सुबेदी, वियर लुकाउने मणि लामा रहेका छन् । मकवानपुर प्रहरीले बरामद भएको बियर ९६० कार्टुन र पक्राउ गरिएका ४ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनमा थप कारबाहीका लागि पठाएको छ ।











प्रतिक्रिया