काठमाडौं, २ असोज । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनौट गरी केन्द्रमा सिफारिस गर्न विभिन्न मापदण्ड बनाएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सोमबार जारी प्रेस विज्ञप्ति अनुसार समावेशी सिद्धान्तका आधारमा प्रत्येक क्षेत्रबा प्रत्यक्ष र समानुपातिकमा ३–३ जनाको दरले सिफारिस गर्न भनिएको छ ।
‘जिल्लामा एक संसदीय क्षेत्र रही हाल पनि एकै निर्वाचन क्षेत्र यथावत कायम भएकोमा जिल्लाले उम्मेदवारको सिफारिश गरी केन्द्रमा पठाउनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेकोमा हाल पनि सोही संख्यामा निर्वाचन क्षेत्र यथावत कायम रहेकोमा क्षेत्रले उम्मेदवारको सिफारिश गरी जिल्लामा पठाउनेछ । क्षेत्रको सिफारिशमा आफ्नो राय सहित जिल्लाले केन्द्रमा पठाउनेछ ।’
कांग्रेसले जिल्लामा निर्वाचन क्षेत्र थपघट भई हाल एक संसदीय क्षेत्र कायम हुन आएकोमा जिल्ला सभापतिको अध्यक्षतामा जिल्ला र क्षेत्रहरूको संयुक्त बैठकबाट उम्मेदवारको सिफारिस केन्द्रमा पठाउन भनेको छ ।
‘जिल्लामा निर्वाचन क्षेत्र थपघट भई एकभन्दा बढी संसदीय क्षेत्र कायम हुन आएकोमा क्षेत्रले उम्मेदवारको सिफारिस जिल्लामा पठाउनेछ । क्षेत्रको सिफारिशमा आफ्नो राय सहित जिल्लाले केन्द्रमा पठाउनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्षतर्फ महिला सहित बढीमा ३ जना र समानुपातिकतर्फ महिला सहित बढीमा ३ जना सिफारिस गर्न भनिएको छ ।
‘सम्बन्धित निकायले पार्टीभित्रबाट उम्मेदवारको नाम सिफारिस गर्दा निरन्तर क्रियाशील सदस्यता कायम रहेका, पार्टीभित्र र आम जनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेका मध्येबाट गर्नुपर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले उम्मेदवारहरूको नाम सिफारिश गर्ने प्रयोजनका लागि पार्टीको तेह्रौं महाधिवेशनमा गठन भएका पार्टीका गाउँ/नगर कार्यसमितिले २०७४ असोज १० गतेभित्र आफ्नो सुझाव र सिफारिश क्षेत्रमा, क्षेत्रले आफ्नो सिफारिश २०७४ असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएको सिफारिशमा आफ्नो राय सहित २०७४ असोज १७ गतेभित्र केन्द्रमा अनिवार्यरुपमा पठाउनु निर्देशन दिएको छ ।











प्रतिक्रिया