काठमाडौं, २ असोज । आपूर्तिमन्त्री शिवकुमार मण्डलले भ्रष्टाचारलाई फाँसीको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । उनको यो प्रस्तावबारे आज बसेको मन्त्रिपरिषद बैठकमा समेत सामान्य छलफल भएको थियो ।
यसको खुलासा स्वयं मन्त्री मण्डलले पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममार्फत गरेका छन् । हाम्रो देशलाई भ्रष्टाचार मुक्त गर्न सकिदैन ? भन्ने प्रश्नमा मन्त्री मण्डलले भने- ‘त्यसका लागि फाँसी दिने कानूनी व्यवस्था राज्यमा हुनुपर्छ । भ्रष्टाचारीलाई फाँसी दिने कानून सबैले मिलेर बनाउनुपर्छ ।’ आफूले यो प्रस्ताव मन्त्रिपरिषदमा समेत उठाएको जानकारी दिँदै फाँसीको सजायँबारे अब बहस सुरु भएको बताए ।
उनले बहुमतीय प्रणाली, ६–६ महिनामा सरकार परिवर्तन हुने कुराले यो मुलुकमा भ्रष्टाचारबाट उन्मुक्ति पाउन नसकिएको गुनासो गर्दै अब स्थिर सरकार र फाँसीको सजायँ अनिवार्य भएको बताए ।
साथै उनले गोपाल खड्कालाई कारवाही गर्न नसके आफू मन्त्री पदमा नरहने स्पष्ट पारे । उनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको कारवाहीमा जस्तोसुकै दबाब आएपछि आफू नरोकिने ठोकुवा गरे ।
















प्रतिक्रिया