१० मंसिर २०८३, बिहिबार

नयाँ आईजीपी नियुक्तिको तयारीमा सरकार, नयाँ प्रहरी महानिरीक्षक को ?

64.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । सरकारले नेपाल प्रहरीमा नयाँ आईजीपी नियुक्तिको तयारी थालेको छ । हालका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई राजीनामा गर्न लगाएर प्रचण्ड नेतृत्वको तत्कालिन सरकारबाट आईजीपी नियुक्ति भई अदालतका कारण फूली लगाउन नपाएका एआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने तयारी कांग्रेस–माओवादी गठबन्धन सरकारले थालेको हो ।

यसका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक छलफल भइसकेको छ । र, प्रचण्ड र गृहमन्त्री जनार्दन शर्मा चन्दलाई प्रहरी प्रमुख बनाउन तयार छन् । अर्याललाई राजीनामा दिन उचित हुने सन्देश देउवाले दिइसकेका छन् । राजीनामा नदिए मन्त्रिपरिषद् बैठकबाट सिधै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने देउवाले चेतावनी दिइसकेका छन् । राजीखुसी राजीनामा दिएमा राजनीतिक नियुक्ति दिने देउवाको आश्वासन छ ।

प्रम देउवा र माओवादी अध्यक्ष प्रचण्डले समेत राजीनामा दिन आग्रह गरिसकेपछि आइजीपी अर्याल यतिबेला तनावमा छन् । नयाँ प्रहरी प्रमुख नियुक्तिको निर्णय प्रधानमन्त्री देउवा अमेरिकाबाट फर्किएपछि बस्ने मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ ।

गुप्तचर प्रमुख रेग्मीलाई पनि हटाउने तयारी

यस्तै, सरकारले आफ्नो चौथो सुरक्षा निकाय गुप्तचरका प्रमुख दिलिप रेग्मीलाई पनि हटाउने तयारी गरेको छ । उनको ठाउँमा वरियतामा एक नम्बरमा रहेका एआईजी गणेश अधिकारीलाई गुप्तचरको प्रमुख बनाउने सहमति प्रचण्ड र देउवाबीच भइसकेको छ ।

रेग्मीमाथी तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई नेता,कर्मचारी र पत्रकारहरुको व्यक्तिगत बिवरण वुझाएको आरोप छ । रेग्मीको कार्यक्षमता समेत कमजोर भएको भन्दै गृहमन्त्री जनार्दन शर्मा उनसंग असन्तुष्ट रहेका बेला हटाउने तयारीमा सरकार पुगेको हो ।