दार्चुला, २ असोज । महिला तथा बालबालिका कार्यालय दार्चुलाका महिला कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । गाउँपालिकामा खटाईएका महिला कर्मचारीले रमान पत्र बुझ्न नमानेको भन्दै प्रहरीले पाँच जना महिला कर्मचारीलाई पक्राउ गरेको हो ।
महिला कर्मचारीहरुले भने खटाएको गाउँपालिकामा दशैंपछि जाने बताउँदै आएका थिए । तर प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको निर्देशनमा महिला कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीलाई एक घण्टापछि छोडेको थियो । महिला तथा बालबालिका कार्यालय दार्चुलाका निमिक्त कार्यालय प्रमुख निर्मला कुँवर र सिडिओ गौतमको निर्देशनमा आफूहरुमाथि प्रहरी प्रशासनले हस्तक्षेप गरेको ती महिलाहरुको आरोप छ ।
यदि कुनै गल्ति गरेमा विभागीय कारबाही गर्ने देखि बढुवा रोक्का गर्ने सम्मको कारबाही गर्ने प्रावधान निजामति ऐनमा हुँदा हुँदै आफुहरु माथि प्रशासनले प्रहरी लगाई मानहानी गरेको उनीहरुको आरोप छ ।
महिला विकास कार्यालयकी निमित्त प्रमुख कुँवरले भने कर्मचारीहरुले रमाना पत्र बुझ्न नमानेको कुरा सिडिओलाई जानकारी मात्र गराएको भन्दै उक्त घटनाको बारेमा आफुलाई कुनै जानकारी नभएको बताएकी छन् । उनले भनिन्– ‘सिडिओ सापले कर्मचारीहरुलाई तुरुन्त गाउँपालिकामा खटाउनुपयो भन्नुभएको थियो । तर मैले कर्मचारहरु दशैपछि मात्रै जाने भनेर रमाना बुझ्न नमानेपछि सिडिओ साबलाई भनेकी हुँ ।’
आफुले कर्मचारीहरुले दशैपछि मात्रै खटाईएको गाउँपालिका जाने भनिरहेको कुरा सिडिओलाई भनेपछि के के भएको भन्नेबारे आफुलाई जानकारी नभएको उनको दाबी छ ।
सिडिओ गौतमले भने कर्मचारीहरुलाई पक्राउ नै नगरिएको बताएका छन् । रमाना पत्र बुझ्न नमानेपछि कर्मचारीहरुलाई आफुले कार्यालयकी निमित्त प्रमुख कुँवरलाई जसरी भएपछि तत्काल खटाउन भनेको उनले बताए ।
कर्मचारीहरुबीच कार्यालय परिषरमै होहल्ला भईरहेको बेला प्रहरीलाई के भईरहेको बुझ्न भनेको तर पक्राउ भने नगरीएको सिडिओ गौतमको दाबी छ ।
यता प्रहरीले समेत कुनै पनि कर्मचारीलाई पक्राउ नगरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आफ्नो नियमित गस्तिका क्रममा कार्यालय परिषरमा हो हल्ला भईरहेको देखेपछि के भईरहेको भन्नेबारे बुझ्न मात्रै गएको बताएको छ ।
यस विषयमा कर्मचारीहरुले सिडिओसँग कुरा गर्ने भन्दै कर्मचारीहरु नै जिल्ला प्रशासन कार्यालयमा पुगेको र सिडिओ कुनै कामको लागि सदरमुकाम बाहिर रहेकाले छलफल हुन नसकेको प्रहरीको भनाई छ । उता आधिकारिक ट्रेड युनियनका अध्यक्ष जयराज पन्तले भने कर्मचारीमाथि प्रहरी प्रशासनद्धारा हस्तक्षेप भएको दाबी गरेका छन् ।
सिडिओले कर्मचारीमाथि प्रहरी लगाएर बल प्रयोग गर्नु निजामति कर्मचारी ऐन विपरित भएको भन्दै दोषीमाथि कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । कर्मचारीहरु आजदेखि ३ दिनको लागि तालिमका खटाएको र जानकारी नै नदिएर निमित्त प्रमुख कुँवरले उनीहरुको हाजिरिमा रातो लगाएकी थिईन् ।
यसअघिनै काज खटाईएका कर्मचारीहरु सम्बन्धित कार्यालमा नगईरहेको अवस्थामा आफुहरुलाई अन्तिम समयमा आएको रमानापत्र बुझ्न लगाएर आफुहरुमाथि अन्याय भएको उनीहरुको दाबी छ ।











प्रतिक्रिया