काठमाडौँ, २१ कात्तिक । कृषि उद्यमको विकास गर्न परियोजनाका आधारमा ऋण दिने की नदिने भन्ने विषयमा सरोकारवालबीच नै गम्भीर मतभेद देखिएको छ ।
शुक्रबार बसेको व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बैठकमा सरोकारवालाहरुबीच यस्तो मतभेद देखा परेको हो ।
छलफलमा सहभागी सभासदहरुले युवा किसानलाई परियोजना धितोमा कर्जा प्रवाह गर्नुपर्ने माग गरे भने राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, अर्थ मन्त्रालयका सह–सचिव कृष्ण देवकोटा र नेपाल बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेलले बिनाधितो कर्जा दिन नसकिने बताए ।
बैठकमा अमृत बोहोरा, बिक्रम परियार, त्रानेन्द्र कार्की, प्रकाशशरण महत, भवानी खापुङ, शिवचन्द्र चौधरीलगायतका एक दर्जन सभासदहरुले बैंकले विनाधितो कर्जा दिनुपर्ने व्यवस्था गर्नुपर्ने माग राखे । कार्यविधिको प्रभावकारी कार्यान्वयन भए मुलुकले कृषि क्रान्तिमा ठूलो फड्को मार्ने उनीहरुको भनाई थियो ।
राष्ट्र बैंकले एक हप्ताअघि कार्यान्वयनमा ल्याएको युवा किसानलाई व्यावसायिक कृषिमा दिने व्याज अनुदान सम्बन्धि कार्यविधि २०७१ मा यो वर्ष युवा किसानलाई १ अर्ब रुपैयाँ व्याज अनुदान दिइने उल्लेख छ । कार्यविधि अनुसार एक जना किसानले एक करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् ।













प्रतिक्रिया