डोटी, २९ भदौ । आगामी असोज १ गतेबाट अनिवार्य अवकाश पाउन लागेका डोटीको डौड इलाका स्वास्थ्य चौकी इञ्चार्ज शिवशंकर रावतको विदाइमा केही दिन पहिले दिइएको ‘दुइ तोला सुनको सिक्री’ बर्थिङ् सेन्टरको रकमबाट खरिद भएको पुष्टि भएको छ ।
जिल्लाको दुर्गम क्षेत्र डौडमा वि.सं. २०५५ सालदेखि निरन्तर सेवारत रावतलाई साविकको डौड गाउँ विकास समितिले वर्थिङ् सेन्टरका लागि छुट्याइएको रकमबाट सिक्री दिइएको पुष्टि भएको हो ।
डौड गाविसको गत वर्ष पौषमा सम्पन्न गाउँपरिषदबाट बर्थिङ् सेन्टरका ४ लाख २० हजार रकम विनियोजन गरिएको थियो ।
सोमध्ये ३ लाख २० हजार रुपैयाँ बर्थिङ् सेन्टरमा कार्यरत अनमी राधिका सिंह र स्विपर कटी नागरीको तलबमा खर्च भएको थियो ।
त्यसमध्ये बाँकी १ लाख रकम र डौड स्वास्थ्यचौकी व्यवस्थापन समितिको खातामा रहेको थप २० हजार रकमबाट सिक्री खरिद भएको स्वास्थ्य चौकी इञ्चार्ज शिवशंकर रावतले जानकारी दिएका छन् ।
उनका अनुसार गत श्रावण १९ गतेका दिन बसेको स्वास्थ्य व्यवस्थापन समितिको बैठकमा उपहार र सम्मानका विषय अनौपचारिक छलफल भएता पनि लिखित कुनै निर्णय भएको छैन ।
रावत भन्छन् –“बैठकको निर्णयमा ‘उपहार सहित सम्मान गर्ने’ निर्णय उल्लेख भएको छ, अनौपचारिक रुपमा सुनको सिक्रीको कुरा भएको थियो, यस विषयमा के कति रकमबाट किनियो, कति तौल बराबरको किनियो भन्ने बारेमा म जानकार छैन, सबै कुरा लालबहादुर बोगटीलाई थाहा होला ।”
त्यस्तै सुनको सिक्री उपहारका विषयमा आफुलाई कुनै जानकारी नभएको तर एक्कासी सार्वजनिक कार्यक्रममा सिक्री पहिराईदिन भनेपछि आफुले स्वास्थ्यकर्मी रावतलाई पहिराईदिएको स्थानीय बासी एवं हालको सायल गाउँपालीका वडा नं. ४ का निर्वाचित वडाअध्यक्ष टेकबहादुर सिंहले बताए ।
उनले भने, – “स्वास्थ्यचौकी ईञ्चार्जको बिदाईमा उपहार र सम्मान गर्ने भन्ने जानकारी मात्रै थियो, एक्कासी सुनको सिक्री उपहार भन्ने कुरा जानकारी पाईयो, त्यो मैले पहिराएको हुँ, मैले त १ लाख २२ हजारको भन्ने जानकारी पाएको हुँ, त्यसको निर्णय बारेमा मलाई कुनै जानकारी छैन, गाविस सचिव लालबोगटीलाई सबै कुरा थाहा होला ।”
श्रावण १९ गतेको निर्णय अनुसार भाद्र १५ गतेका दिन रावतको सम्मान कार्यक्रम राख्ने निर्णय भएता पनि यहि भाद्र २४ गतेका दिन सायल गाउँपालीकाको प्रथम गाउँसभामा उक्त सम्मान दिईएको हो ।
उक्त सम्मानबारे समाचार बाहिर आएपछि सामाजिक सञ्जाल (फेसबुक) मा विभिन्न खालका टिकाटिप्पणी सहित सायल गाउँपालीका पनि दोषि रहेको आलोचनापछि सायल गाउँपालीकाले बुधबार विज्ञप्ती सार्वजनिक गरेको छ ।
गाउँपालीकाका अध्यक्ष तेजबहादुर डुम्रेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा सुनको सिक्री प्रदान गरेको विषयमा गाउँपालीका र गाउँसभामा उपस्थित अतिथिहरुसँग जोडेर विभिन्न समाचार माध्यम र सामाजिक सञ्जालमा भएको आलोचना भ्रामक भएको भन्दै सत्यतथ्य कुरा खोजेर लेख्न आग्रह गरिएको छ ।
साथै साविकको डौड गाविस र डौड स्वास्थ्यचौकी व्यवस्थापन समितिले सुनको सिक्री उपहारका विषयमा के कसरी निर्णय गरेको हो त्यसको सायल गाउँपालीकालाई कुनै जानकारी नरहेको अवस्थामा गाउँ सभामा उपहार दिनुपूर्व नै जानकारी पनि नगराईएकाले उक्त कार्यको पूर्ण रुपले नैतिक जिम्मेवारी स्वास्थ्य व्यवस्थापन समितिले लिनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
कुनै औपचारिक निर्णयबिना दुइ तोला सुनको सिक्री उपहार दिइएको विषयमा सबैले साविकको डौड गाविस सचिव तथा स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष लालबहादुर बोगटीलाई नै दोष थुपारेका छन् ।
हाल सायल गाउँपालीकाका कार्यकारी अधिकृत समेत रहेका बोगटीले पनि यो कुरा स्विकार गरेका छन् । उनले भने–‘अनौपचारिक रुपमा स्वास्थ्य व्यवस्थापन समितिको बैठकमा छलफल त भएकै हो, निर्णय गर्न मिल्ने विषय नभएका कारण माइन्युटमा उपहार सहित सम्मान गर्ने निर्णय लेखिएको छ ।’
सुनको सिक्रि कहाँबाट र कसरी खरिद भयो भन्ने प्रश्नमा बोगटीले सिक्री धनगढीबाट खरिद भएको, खरिद गर्ने व्यक्ति अर्कै भएता पनि लेखापाल प्रयागराज उपाध्यायले धनगढीबाट ल्याएको बोगटीले बताए ।
उनले सिक्री खरिद गर्ने व्यक्तिको नाम भने खुलाउन चाहेनन् । सबैले बोगटीलाई नै दोष थुपारेपछि उनले उक्त सिक्रीको रकम तिर्नुपर्ने भएता पनि आफु तयार रहेको बताएका छन् । तर यस विषयमा थप समाचार लेखी चर्चाको विषय नबनाईदिन उनले आग्रह गरेका छन् ।
सुनको सिक्री हो वा होईन, भएता पनि २ तोला छ कि छैन भन्दै एक स्थानीयले थप आशंका उब्जिएको बताएका छन् ।
बर्थिङ् सेन्टरका लागि विनियोजित रकमबाट सुनको सिक्री खरिद गरिएको विषय छानविन गरिने र यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानविन गर्ने डोटीका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।












प्रतिक्रिया