
नुवाकोट, २८ भदौ । जिल्ला सभापतिलाई नै अन्तरघातको आरोप लागेपछि नुवाकोटमा नेपाली काँग्रेसभित्र बबाल भएको छ ।
बेलकोटगढी नगरपालिकामा काँग्रेसका मेयरका उम्मेदवार यादव नेपाल लगायतले आफूहरुमाथि जिल्ला सभापतिले नै अन्तरघात गरेको आरोप लगाउँदै कारबाहीका लागि केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् ।
वैशाख ३१ गतेको निर्वाचनमा जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको आरोप लगाई बेलकोटगढीका मेयरका पराजित उम्मेदवार यादव नेपाल, उपमेयरकी प्रत्याशी हिरा तिवारी शर्मासहितले कारवाहीका लागि केन्द्रीय कार्यालयमा सूची बुझाएका छन् ।
उनीहरुले केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहाललाई पनि कारबाही गर्न उजुरी दिएका छन् ।
यस्तै, पूर्वजिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तरघात गर्नेको सूची बुझाई कारवाहीका लागि माग गरेको छ । सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ ।
जिल्ला तहकाले कारवाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताए ।
पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारवाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताए । निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा उजुरी दिएपछि जिल्ला सभापति केसी संकटमा परेका छन् । उनी काँग्रेसका नेता अर्जुननरसिंह केसीका सहोदर भाइ हुन् ।











प्रतिक्रिया