काठमाडौं, २७ भदौ । रुरल माइक्रो फाईनान्स डेभलपमेण्ट सेण्टर लि. काठमाडौंको आयोजनामा भदौ २५ र २६ गते दुई दिन पोखराको ल्याण्डमार्कमा ‘साझेदार संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी’ सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा सेण्टरका साझेदार लघुवित्त बैंकहरु, वित्तिय मध्यस्थकर्ताको रुपमा काम गर्न गैैरसरकारी संस्थाहरु र सहकारी संस्थाहरुबाट जम्मा ५० जनाको सहभागिता रहेकोे थियो । गोष्ठिमा सेण्टरका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा लगायत सेण्टरका वरिष्ठ प्रबन्धकद्वय पृथबहादुर थापा र अन्नपुर्ण श्रेष्ठको पनि सहभागिता रहेको थियो ।
गोष्ठीको शुभारम्भमा सेण्टरका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सेण्टरले आयोजना गर्ने यस्तै अन्य क्षेत्रमा हुने समीक्षा गोष्ठी बाट प्राप्त हुने निचोड लाई नीति निर्माण तहमा लैजाने प्रतिबद्घता व्यक्त गर्नु भयो ।
गोष्ठीको संयोजक, वरिष्ठ प्रबन्धक अन्नपूर्ण श्रेष्ठले गोष्ठीका सहभागिहरुलाई स्वागत गर्देै आरएमडीसीले सुरुदेखि सुरक्षित, स्वस्थ र दिगो लघुवित्तकोे परिकल्पना गर्दै लघुवित्त संस्थाहरुलाई सजग गराउदै आएकोमा आजको दिनमा यसको अझ बढी सान्र्दभिकता भएकोले लघुवित्त सस्थाहरु चिन्तनशील हुनु जरुरी रहेकोबारे बताउनुभयो ।
गोष्ठीको पहिलो दिन संस्थाका तर्फबाट उपस्थित प्रतिनिधिले आ-आफ्नो संस्थाको प्रगति विवरण, संस्थाका समस्या, चुनौति तथा अनुभवहरु, संस्थाले गरेका राम्रा प्रयासहरु बारे प्रस्तुतिकरण गर्नुभयो ।
गोष्ठीको दोस्रो दिनमा लघुवित्त क्षेत्रमा देखिएका समस्याहरु तथा चुनौतीहरु पहिचान गरिएको थियो । यी पहिचान गरिएका समस्या तथा चुनौतीहरु समूह समूहमा छलफल गरि समाधानका उपायको लागि सामुहिक प्रस्तुतिकरण गरिएको थियो ।
अन्त्यमा सवैको सहमतिमा सहभागी लघुवित्त संस्थाका प्रतिनिधिहरुबाट एउटा संकल्प तयार भएको थियो । संकल्पमा संस्थागत सुशासन, आन्तरिक व्यवस्थापन तथा नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने, वित्तीय साक्षरता र सदस्य शिक्षालाई प्रभावकारी बनाउने, नीति तथा मापदण्डको पालना गर्ने, नीतिगत सुधारको लागि पहल गर्ने तथा हाल लघुवित्तमा देखिएका समस्यालाई नयाँ विधि तथा प्रविधीबाट समाधान गर्ने प्रतिबद्घता सहित दुई दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।















प्रतिक्रिया