बाँके, २७ भदौ । समाज विकास प्रवर्द्धन केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकालाई नेपालगञ्जका एक विद्यार्थीले आफ्नै पहल र प्रयासमा शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका २ निवासी विद्यार्थी सोयिबा सिद्दिकीले जानकी गाउँपालिकामा रहेको समाज विकास प्रवर्द्धन केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएकी हुन् ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, नेपाल विद्यार्थी संघ बाँकेका कार्यसमिति सदस्य विवेक मल्ल, समाज विकास प्रवर्द्धन केन्द्रका अध्यक्ष मीनबहादुर अर्याल र सोबिया सिद्दिकी लगायतले ती बालबालिकालाई सो शैक्षिक सामाग्री एक कार्यक्रममा बितरण गरेका थिए ।
अनाथ र असहाय ३ बालक र ६ जना बालबालिकालाई उपलब्ध गराइएको शैक्षिक सामाग्रीमा हरेकलाई एक थान ब्याग, १२ वटा कपी, एक ड्रोइंग कपी, एक डिब्बा पेन्सिल, एक डिब्बा कलर, एक थान मोबाइल गेम, रबर, कटर, ग्लुस्टिक र टेप रहेका छन् ।
शैक्षिक सामाग्री पाउने बालबालिकाहरूमा रोशन आहुजी, अर्जुन क्षेत्री, अरुणिमा थारु, दुर्गा क्षेत्री, हरा आहुजी, सुवेदना थारु, धनमाया पुन, सुमिता थारु र मुमा डाँगी रहेका छन् ।
शैक्षिक सामाग्रीको अभावले केन्द्रमा आश्रित रहेका बालबालिकाको पठनपाठनमा समस्या भैरहेकोले उनीहरूको पढाईलाई निरन्तरता दिन आफूले आफ्नै पहलमा सो शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएको विद्यार्थी सिद्दिकीले बताइन् ।
१० देखि १४ वर्षसम्म उमेरका ती ९ जना बालबालिकाहरू २ देखि १० कक्षासम्म नेपालगञ्जका २ वटा सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् ।













प्रतिक्रिया