– आकाश देबकोटा
बाँके, २५ भदौ । बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायको सुरक्षाको माग गर्दै आइतबार नेपालगञ्जमा एक बृहत्त बिरोध ¥याली प्रदर्शन गरिएको छ । रोहिंंग्या समुदायमाथि भैरहेको हत्या हिंसाको बिरोध गर्दै बाँकेका मुस्लिम समुदायले बिरोध -यालीको आयोजना गरेर सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत मुस्लिम समुदायले बर्मामा भैरहेको नरसंहार रोक्न कुटनितिक तवरले दवाव सृजना गर्न आग्रह गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई सो ज्ञापनपत्र पठाएका हुन ।
मुस्लिम समुदायको तर्फबाट आयोजना गरिएको बिरोध -याली स्थानीय विपी चोकबाट शुरु भै त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर सम्पन्न गरिएको थियो ।
‘सामुहिक नरसंहार र हत्या हिंसा बन्द गर’ ‘मानअधिकारको रक्षा गर’ ‘बाच्ने र बस्न पाउने अधिकार बहाल गर’ ‘नोबेल पुरस्कारको ईज्जत राख’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेर निकालिएको उक्त बिरोध -यालीमा बाँकेका बिभिन्न राजनितिक दलका अगुवा मुस्लिम नेताहरु, महिला मुस्लिम अगुवाहरु, समाजसेवीहरु, युवा, पत्रकार, ब्यबसायी र धार्मिक अगुवाहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले हत्या हिंसाको बाटोले कुनै पनि समस्याको समाधान नहुने जनाउँदै मुस्लिम समुदायको मागलाई तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि भैरहेको सामुहिक नरसंहार तत्काल रोकिनु पर्ने माग गर्दै मुस्लिम अगुवा तथा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राइले सबै ठाउँमा मानवअधिकार र आतंक हेर्ने बिश्वका अगुवा राष्टहरु अहिले चुप लागेर बस्नुलाई बुझ्न नसकेको बताउनु भयो ।
यसैगरी मुस्लिम धर्म गुरु मौलाना जमाल अहमद कादरीले यो कुनै मुस्लिम समुदायको मात्र कुरा नभई समग्र मानवअधिकारको हनन् भैरहेको तथा नरसंहार गर्ने कार्य भैरहेकोले तत्काल बन्द गर्न बिश्व समुदायले एकजुट भएर दवाव दिनु पर्ने बताउनु भयो ।
नेपालगञ्जमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयमा समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेपनि आइतवार सो कार्यालयमा विदा हुने गरेकोले सोमवार त्यहाँ गएर ज्ञापन बुझाइने मदरसा फैजुन्नबी ईदगाह संचालक समितिका अध्यक्ष रहीस अहमद सिद्दिकीले बताउनु भयो ।















प्रतिक्रिया