
काठमाडौं, २४ भदौ । निर्वाचन आयोगले उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र जलस्रोत राज्यमन्त्री अमरसिंह पुनसँग स्पष्टीकरण माग गरेको छ ।
आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले गच्छदार र पुनसँग स्पष्टीकरण सोधेको हो । नेपाल लोकतान्त्रिक फोरमका नेता एवं कार्यकर्ताहरूले पर्साको वीरगञ्ज महानगरपालिकामा मोटरसाइकल जुलुसहित चुनावी जुलुस निकाली निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।
आयोगको शनिबारको बैठकले उपप्रधानमन्त्री गच्छदारसँग स्पष्टीकरण माग गर्ने र वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार विमलप्रसाद श्रीवास्तावको उम्मेदवारी किन रद्द गर्न नपर्ने भनी २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो । श्रीवास्तव केही दिनअघि मात्रै राजपाबाट लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए । उनलाई लोकतान्त्रिक फोरमले वीरगञ्जको मेयरको उम्मेदवार बनाएको छ ।
यसैगरी, बाराको सिमरामा आचारसंहिता विपरीत चुनावी प्रचारप्रसारमा लागेका जलस्रोत राज्यमन्त्री अमर सिंह पुनसँग पनि आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेका राज्यमन्त्री पुनलाई स्थानीयले घेरा हालेर विरोध जनाएका थिए ।











प्रतिक्रिया