वीरगञ्ज, २३ भदौ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै तराई मधेसमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध उत्पात मच्चाउन थालेका छन् ।
प्रदेश नम्बर दुईमा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि पर्साको वीरगञ्ज महानगरपालिकामा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले आफूनिकट कार्यकर्तालाई टिकट दिलाएको भन्दै असन्तुष्ट कार्यकर्ताले विहिबार पार्टीको झन्डा जलाएका हुन् ।
त्यसक्रममा उनीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेतृ अर्यालको पुत्ला पनि जलाएका थिए । उर्मिला अर्याल तीनै नेतृ हुन् जो नायिका रेखा थापासँगै पार्टी प्रवेश गरेकी थिइन् । उनी माओवादीबाटै मन्त्री समेत भइसकेकी छन् । यद्यपी रेखा अहिले माओवादी परित्याग गरी पशुपति राणा समूहको राप्रपा प्रजातान्त्रिकमा आबद्ध छिन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा नेतृ अर्यालले आफूनिकट कार्यकर्तालाई टिकट दिएको विरोधमा घन्टाघरमा भेला भएर प्रदर्शनमा उत्रिएका असन्तुष्ट नेता कार्यकर्ताले पार्टीको झण्डा जलाउँदै प्रचण्ड र उर्मिलाको पुत्ला समेत जलाइदिएका हुन् ।
यो घटनाले माओवादी केन्द्रमा चुनावी वातावरण विग्रिने भन्दै चिन्ता बढेको छ ।












प्रतिक्रिया