लुम्बिनी, २० भदौ । व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित हुन सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा आयोजना प्रमुखले अटेर गरेका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल छ लेन सडकको विषयमा आयोजित सार्वजनिक सुनुवाइ तथा समितिको बैठकमा मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई बोलाइएको भए पनि उहाँहरुले आउनमा अटेरी गर्नुभयो ।
कार्यक्रममा अनुपस्थित सरकारका विभागीय दुई मन्त्री र सचिवलाई सार्वजनिक लेखा समितिले काठमाडौँमा अर्को बैठक आह्वान गरी स्पष्टीकरण लिने समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरसँग स्पष्टीकरण लिने भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रुपन्देहीमा सञ्चालित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया–बुटवल सडकको स्थलगत अनुगमनपछि भैरहवामा आयोजित सार्वजनिक सुनुवाइपछि बसेको बैठकमा समेत दुवै मन्त्रीहरु बिना जानकारी अनुपस्थित भएकाले उहाँहरुसँग स्पष्टीकरण लिइने समितिका सभापति उपाध्यायले बताउनुभयो ।
सांसद विष्णुप्रसाद पौडेलले विमानस्थल निर्माणमा भएको चरम लापरबाहीमा भएको कारणसहित सार्वजनिक लेखा समितिलाई श्वेतपत्र दिनुपर्ने बताउनुभयो ।
सांसद बालकृष्ण खाँणले निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीसँग छलफल गरेर मात्रै समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो ।
सांसद सर्वेन्द्रनाथ शुक्लाले जिम्मेवार व्यक्ति बैठकमा उपस्थित नहुनुले सरकारले यी आयोजनालाई गौरवका आयोजना नठानेको महशुस गराएको टिप्पणी गर्नुभयो ।
सांसद रामहरि खतिवडाले विमानस्थल काम गर्नेभन्दा पनि कारोवार गर्ने थलो भएको र विमानस्थल निमार्णमा ठेकेदार छनोटदेखि आयोजना निर्देशक छनोटसम्ममा कमजोरी भएको बताउनुभयो ।
सांसद गोकर्ण विष्टले आयोजना सकंटमा फसेको र यसलाई पुनःजीवन दिन छुट्टै समिति गठन गरेर गहिरो अध्ययन गरी समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
सासंद धनराज गुरुङले दुवै आयोजनामा ठूलो मात्रामा भ्रष्टचार भएको हुन सक्ने र कमिसनको खेलका कारण काममा ढिलाइ भएको उल्लेख गर्नुभयो ।
बैठकमा सहभागी लेखा समितिका सदस्यहरु धुव्र बाग्ले, दिपक गिरी, विकास लम्साल, रुपा महर्जन, डा डिम्पलकुमारी झा, बाद शाह, मीना भण्डारी, हरि नेपाललगायतले ‘मिनी संसद्’को रुपमा रहेको सार्वजनिक लेखा समितिको बैठकलाई मन्त्री तथा सचिवले समितिको बैठकलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँहरुले निर्माण कार्य सम्पन्न हुने बेलासम्म २५/३० प्रतिशत मात्रै काम सम्पन्न हुनु निकै गैरजिम्मेवारीपन भएको उल्लेख गर्दै समयमा काम गर्न नसक्ने ठेकेदारलाई कडा कारबाहीको सिफारिस गरिने बताउनुभयो ।
सांसदहरुले सरकारले आफूलाई आवश्यक परेर अधिग्रहण गरेको जग्गामा लाभकर लिने नीति परिमार्जन गरेर तत्काल मुआब्जा दिन आग्रह गर्नुभयो । अहिलेको नीतिका कारण अधिग्रहणमा परेका विमानस्थलका जनताले लामो समयसम्म पनि मुआब्जा नपाएको भन्दै सार्वजनिक सुनवाइमा ठूलो गुनासो गरेका थिए । रासस












प्रतिक्रिया