
रौतहट, २० भदौ । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर पदमा दुई जनाले टिकट पाएपछि कार्यकर्ता अलमलमा परेका छन् ।
नेकपा एमालेको केन्द्रले सार्वजनिक गरेको सूचीमा मेयरमा बाबुराम दाहालको नाम छ । एमाले केन्द्रीय कमिटीले पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको नाममा दाहालको नाम उल्लेख गरिएको छ । तर, बाबुराम दाहालको नाम सार्वजनिक भए लगत्तै सोही पदमा उम्मेदववार उद्धब रेग्मीले पनि मेयरको टिकट पाएको चर्चा छ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश नम्वर २ का संयोजक सत्यनारायण मण्डलले दुईवटै पत्रमा हस्ताक्षर गरेका छन् । मण्डलको हस्ताक्षर भएको पत्र उल्लेख गर्दै रेग्मी र दाहाल दुबैले आफू आधिकारिक उम्मेदवार भन्दै फेसबुकमा सार्वजनिक गरेका छन् ।
अझ रोचक त के भने एमाले रौतहटका जिल्ला सचिव र नगर कमिटीका अध्यक्षको कुरा समेत बाझिएको छ । एमाले रौतहटका जिल्ला सचिव लक्ष्मण रेग्मीले केन्द्र र जिल्लाले आधिकारिक रुपमा दाहाललाई उम्मेदवार बनाएको बताएका छन् ।
तर, नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्यले भने रेग्मीले आधिकारक रुपमा मेयरको टिकट पाएको जानकारी दिएका छन ।
उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन देखिएको यो गाइजात्राले रौतहटका एमाले कार्यकर्ता भने अलमलमा परेका छन् । दाहाल आधिकारिक कि रेग्मी भन्दै चन्द्रपुरमा कार्यकर्ताहरु दुई पक्षमा उभिएका छन् । कार्यकर्ताहरु आफ्ना पक्षले टिकट पाएको भन्दै वादविवाद गर्न समेत गर्न थालेका छन । एक सातादेखि रेग्मी काठमाडौंमा थिए । उनी टिकट लिएर सोमवार रौतहट आउँदै गरेको बताइएको छ । यता दाहाल पनि सोमबार उम्मेदवारी दर्ता गर्ने भन्दै तयारीमा बसेका छन् ।
दाहाल वरिष्ठ नेता माधव नेपालसँग निकट मानिन्छन् भने रेग्मी संस्थापन पक्षसँग नजिक मानिन्छन् । सोहीकारण यो विवाद सिर्जना भएको हो । राम्रो वातावरण हुँदाहुँदै पनि नेताहरुले व्यवस्थापन गर्न नसक्दा कार्यकर्तामा नैराश्यता छाएको छ ।















प्रतिक्रिया