१ कार्तिक २०८३, आइतबार

मन्त्री केसीलाई लोकतान्त्रिक खेलकुद संघको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार युवा तथा खेलकुदमन्त्री राजेन्द्र कुमार केसी राजनलाई सम्मान गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उहाँलाई खेलकूद जस्तो राष्ट्रको प्रतिष्ठा र युवाहरुको भविष्यसंग जोडिएको मन्त्रालयको नेतृत्व सम्हाल्न आउनुभएकोमा संघले मन्त्री केसीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको थियो ।

कार्यक्रममा मन्त्री केसीले खेलकूद क्षेत्रमा विगतमा देखिएका आर्थिक र प्रशासनिक अनियमितता, भष्ट्राचार, ढिलासुस्ती हटाएर यसलाई खेलकूदको विश्वव्यापी मान्यताअनुरुप सुशासनयुक्त, अनुशासित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले खेलकूदको क्षेत्रमा गरिने सकारात्मक सुधार र विकासमा लोकतान्त्रिक खेलकूद संघलगायतका संस्थाहरुको साथ चाहिएको बताउनुभयो ।

उहाँले खेलकूदको क्षेत्रमा लोकतन्त्रवादी खेलाडीहरु संगठित भएर अगाडि बढ्नु पर्ने खाँचो औल्याउदै लोकतान्त्रीक खेलकुद संघलाई विस्तार गरी पार्टीको भातृ संगठनको रुपमा विकसित गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले लोकतन्त्रवादी खेलाडी र खेलप्रेमीहरुले आपसी मतभेद विर्सेर खेलमा जस्तै स्वस्थ प्रतिस्पर्धाको भावना सहित अगाडि बढ्नुपर्ने बताउनु भयो ।

सोहीअवसरमा संघको केन्द्रिय समितिका सदस्य काठमाण्डौ वडा–११ नवनिर्वाचित सदस्य सरोजकुमार मुल्मी, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघमा विजयी हुनुभएका रञ्जन थापालगायतलाई पनि सम्मान गरिएको थियो ।

संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको सभापतित्वमा गरिएको बधाई तथा सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ उपाध्यक्ष किशोर राईसहित पदाधिकारीहरु, लोकतान्त्रिक खेलकुदमा आवद्ध खेलाडी र खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

पार्टी कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा केन्द्रिय समितिका संघको विधान परिमार्जन गर्ने, संगठनलाई चुस्त राख्ने, प्रदेश नम्बर दुईमा हुन लागिरहेको स्थानिय तहको चुनावमा संघलाई संगठित गरी परिचालन गर्ने निर्णय गरिएको केन्द्रिय सदस्य तथा प्रचार प्रसार संयोजक दामोदर अर्यालले बताउनुभयो ।