४ कार्तिक २०८३, बुधबार

काम गरे के हुँदैन ? भाडाको जग्गामा गोलभेँडा खेती

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १८ भदौ । पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ ।

“गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,” बम्रेलले भन्नुभयो,– “गोलभेँडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ ।”

गोलभेँडा खेतीबाट अहिले रु १० लाखसम्म आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।  श्रम र पसिना पोखे स्वदेशका भिरपाखमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण म आफैं बनेको छु, बम्रेल भन्नुभयो – “राम्रो आम्दानी हुन थालेपछि अहिले यहाँका युवाहरू जग्गा भाडामा लिएर भए पनि गोलभेँडा खेती शुरु गरेका छन् ।”

अर्का युवा तिलक रानाले पनि भाडाकै जग्गामा गोलभेँडा खेती गरेर वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन थालेका छन् ।

राम्रो आम्दानी हुन थालेपछि उनी पनि गोलभेँडा खेतीमा हौसिएका छन् । गाउँमा गोलभेँडा खेतीबाट रु ५० हजारदेखि १० लाखसम्म आम्दानी लिनेको संख्या वर्षेनी बढ्दै गएका छन् ।

गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेशिने युवाको संख्यामा पनि यहाँ कमि हुँदै गएको छ । व्यावसायिक गोलभेँडा खेतीबाट मनग्य आम्दानी हुन थालेपछि सयौँ घरपरिवारको जीवनस्तरमा समेत सुधार आएका छन् । गोलभेँडा खेतीबाट जीवनस्तरमा सुधार आएपछि यहाँका परिवारमा खुशी छाएका छन् ।

पाल्पाली गोलभेँडाको माग बजारमा एकदमै राम्रो रहेको र यस वर्ष मूल्य पनि राम्रो भएकाले किसान आफ्नो बारीको गोलभेँडाको बोटलाई निकै स्याहार गर्न व्यस्त देखिन्छन् ।

गोलभेँडाको बजार मूल्य अहिले प्रतिकिलो रु १०० को हाराहारी छ । गत वर्र्षभन्दा यस वर्ष प्रतिकिलो रु ७० देखि ८० बढी पाउने भएपछि किसान खुशी भएको मुझुङ्ग कृषि सहकारी संस्थाका सदस्य चन्द्रवीर कार्कीले बताउनुभयो ।

बजारको समस्या झेल्न नपर्ने भएपछि किसानलाई गोलभेँडा खेती गर्न झनै सजिलो भएको छ । सहकारीले बजार व्यवस्थापन, मल, बीउ, प्राविधिक सहयोग र ऋणसमेत व्यवस्था गरेपछि गोलभेँडा खेतीमा स्थानीय आकर्षित बनेका हुन् ।

यहाँ उत्पादित गोलभेँडा सदरमुकाम तानसेन र बुटवलमा मात्र बिक्री हुँदै आएकोमा यतिखेर पोखरासम्म बिक्री हुँदै आएका छन् ।

यहाँ दैनिक ५० देखि ६० क्विन्टल गोलभेँडा उत्पादन हुँदै आएको बजार व्यवस्थापनका संयोजक अम्बरबहादुर कार्कीले बताउनुभयो । रासस