घोराही, १५ भदौ । नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलले ५ नम्बर प्रदेशमा हुने आगामी प्रदेश र संघको चुनावमा एमालेले बहुमत ल्याउने दावी गरेका छन् ।
युवा संघ नेपालले बुधवार घोराहीमा गरेको पाँच नम्बर प्रदेशको विस्तारित भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले दाङसहित प्रदेश नम्बर ५ मा एमालेले बहुमत ल्याउने दाबी गरे । स्थानीय तहमा आएको मत आगामी प्रदेश र संघको चुनावमा आए एमालेले सिधै बहुमत ल्याउने उनले ठोकुवा गरे ।
‘दाङमा एमालेले स्थानीय तहको चुनाव जितेर देखाएको छ, यसले पनि दाङमा एमाले बलियो छ भनेर पुष्टि गरेको छ,’ आफै स्थानिय तहको निर्वाचनमा जिम्मेवारी लिएर खटिएका पाखरेलले भने– ‘कांग्रेस र माओवादी गठबन्धन गरेको संयुक्त गठबन्धनलाई बुटवलमा हराएर एमालेले त्यहाँ पनि चुनाव जित्यो, प्रदेश नम्बर ५ को महत्वपूर्ण जिल्ला दाङ र बटुवलमा चुनाव जितिसकेपछि एमालेले प्रदेश र संघको चुनावमा पनि बहुमत ल्याउछ भन्ने कुरामा शंकै छैन, तर, एमाले एकमना, एकताका साथ चुनावि रणनीति तयार गरी अघि बढ्नुपर्छ ।’
एमाले नीति, सिद्धान्तमा स्पष्ट रहेकाले तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री कालमा राष्ट्रियता सवालमा देखाएको अडानका कारण एमालेले यसपालि सबै चुनाव जित्ने उनको विश्वास छ ।
सत्तारुढ कांग्रेस र माओवादीले पदलोलुपता देखाएको जनताले बुझिसकेको भन्दै पूर्व सञ्चारमन्त्रीसमेत रहेका पोखरेलले कठिन अवस्थामा सरकारको नेतृत्व गर्नु भएका ओलीले भारतीय नाकाबन्दीको डटेर सामना गरेका कारण अहिले एमालेले जनताको मन जितेको तर्क गरे ।













प्रतिक्रिया