४ कार्तिक २०८३, बुधबार

सहकारीको विकासका लागि सदस्य सक्रिय हुनुपर्छ : उप्रेती

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १५ भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारीको मूल भावना सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण भएकाले सहकारीको विकासका लागि पनि सदस्यहरू नै सक्रिय हुनु पर्नेमा जोड दिनु भएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आयोजना गरेको सहकारीमा शेयर सदस्यहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उप्रेतीले यस्तो बताउनु भएको हो ।

सहकारी व्यवसाय सबै सदस्यलाई मालिक बनाउने व्यवसाय भएकाले यसको विकासका लागि सदस्यहरुको सक्रियता आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहकारीको अवधारणा नै आफै उत्पादन गर्ने, आफै विक्री वितरण गर्ने र आफै प्रशोधन गरी उत्पादक र उपभोक्ताबीचको विभेद अन्त्य गर्ने भएको चर्चा गर्दै उहाँले स्वावलम्बी बन्नका लागि आयआर्जनका काम गर्न आवश्यक रहेको बताउनुभयो ।

सहकारीका सदस्यहरुलाई आयआर्जनका लागि व्यवसाय गर्न वा स्वरोजगार बन्न रकमको अभाव पर्दैन भन्दै उहाँले सहकारी संघ संस्थाहरुमा रकम अभाव भएमा राष्ट्रिय सहकारी बैंक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको संक्षिप्त परिचय सहित संरक्षित पूँजिकोषका बारेमा जानकारी गराउदै सहकारीमा संरक्षित पूँजि फिर्ता कोषको रकम सदस्यलाई उपलब्ध नगराउदासम्म सदस्यहरुले सहकारीमै कारोबार नगर्ने बताउनु भयो ।

शेयर लगानी गरेर निष्क्रिय बस्ने सदस्यहरु र सक्रिय सदस्यहरुबीच एउटै सुविधा भएका कारण सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै उहाँले सक्रिय र निष्क्रियका बीचको अन्तर हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थामा निरन्तर कारोबार गर्ने १ सय जना शेयर सदस्यको सहभागिता रहेको थियो ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा भदौ १७ गते बागलुङ बजारमा आयोजना गरिएको र उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडा आउने जानकारी संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी दिनुभयो ।