काठमाडौं, १४ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता केशव झाले एमालेको कार्यक्रम विथोल्ने आफूहरुको नीति नरहेको स्पष्ट पारेका छन् ।
मंगलबार एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कार्यक्रममा राजपाका कार्यकर्ताले अवरोध गर्न प्रयास गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता झाले जनकपुर घटना खेदजनक रहेको बताए ।
‘सबै दलले आफ्ना कुरा लिएर जनतामा जाने अधिकार छ, त्यो अधिकार एमालेले पनि राख्छ,’ उनले भने– ‘एमाले कार्यक्रममा अवरोध भएको छ भने त्यो खेदजनक हो, अवरोध गर्ने राजपाको आधिकारिक निर्णय होइन ।’
एउटा पार्टीले अर्काे पार्टीको कार्यक्रम बिथोल्नु राजनीतिक गुन्डागर्दी भएको र राजनीतिक संस्कार भित्र नपर्ने भन्दै उनले अगाडि थपे– ‘चुनावी कार्यक्रममा अवरोध पुरयाउनु राजनीतिक गुन्डागर्दी हो । हामी बलियो भएको ठाउँमा एमाले लखेट्ने, एमाले बलियो भएको ठाउँमा हामीलाई लखेट्यो भने चुनाव हिंसात्मक हुन्छ ।’
६ दल मिलेर बनेको राजपामा सबैको बुझाई सामान नभएकाले समस्या आएको हुनसक्ने भन्दै नेता झाले भने– ‘सबैको बुझाई समान नभएका कारण केही समस्या भएको होला, तर मैले सबै जिल्ला अध्यक्षलाई फोन गरी निर्देशन दिइसकेको छु ।’












प्रतिक्रिया