१० मंसिर २०८३, बिहिबार

ओलीको बोलीपछि अयोधीले भने- मधेसमा एमालेमाथि अवरोध नरोकिए चुनाव रोकिन्छ

20.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी नेकपा एमालेमाथिको अवरोध नरोकिए प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचन स्थगित गर्ने चेतावनी दिएको छ ।

आजै थाइल्याण्डबाट फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगको निष्पक्षमाथि प्रश्न उठाउँदै ‘आचारसंहिता सरकार र राजपालाई नलाग्ने हो कि’ भन्ने प्रतिक्रिया दिएलगत्तै प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले एमालेमाथिको अवरोध नरोकिए चुनाव स्थगित गर्ने चेतावनी सरकारलाई दिएका हुन् ।

वीरगञ्ज र जनकपुरमा एमाले वरिष्ठ नेता माधव नेपालमाथि अवरोध र आक्रमणको प्रयास हुँदा उनलाई २४ घण्टे स्पष्टिकरण सोध्ने तर आक्रमण गर्न खोज्ने राजपा र संरक्षण गर्ने सरकारसामू आयोग निरिह बनेको भन्दै आलोचना भएपछि प्रमुख निर्वाचन आयुक्तले सरकार र राजपामाथि एक्सन लिएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त यादवले आफूले राजपाका नेतासँग पनि कुरा गरिसकेको र सरकारलाई पनि यसबारेमा गम्भीरतापूर्वक सचेत गराइएको जानकारी दिए ।

चुनावी कार्यक्रम बिथोल्ने र अवरोध तथा निषेध गर्ने कार्यमा उम्मेदवार प्रत्यक्ष संलग्न भएको पाइमा उम्मेदवारी रद्द हुनसक्ने उनको चेतावनी छ । जनकपुर लगायतका ठाउँमा एमालेमाथि भइरहेको अवरोधका घटनाबारे आयोगले छानविन गरिरहेको उनले बताए ।

यसअघि आज विहान एमाले सचिव योगेश भट्टराईले ‘सिडिओ र प्रहरीको सरुवा नदेख्ने, मतपत्र च्यातेको नदेख्ने, माधव नेपालको टाउकाको सूर्य चै देख्ने ! अयोधीका आँखा त मान्नै पर्छ बा !’ भनेर आलोचना गरेका थिए ।