१० मंसिर २०८३, बिहिबार

सुरक्षा निकायभित्र ठूलो हलचल हुँदै, निर्वाचन प्रभावित बनाउने खेलमा शर्मा, एमाले मौन

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । प्रमुख जिल्ला अधिकारीहरूको सरुवा विवाद सेलाउन नपाउँदै सुरक्षा निकायभित्र भइरहेको राजनीतिक हस्तक्षेपलाई लिएर गृहमन्त्री जनार्दन शर्माको आलोचना सुरु भएको छ ।

असोज २ गते र त्यसपछिका दुई ठूला निर्वाचन आफू निकट दल माओवादी केन्द्रलाई सहयोग हुने गरेर शर्माले सुरक्षा निकायभित्र बढुवा र सुरुवा सुरु गरेको उच्च स्रोतले जनाएको छ ।

यतिसम्मकी गृहमन्त्री शर्माले बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा निर्वाचन आचारसंहिता विपरित सुरक्षा निकायका केही उच्च अधिकारीहरूको बढुवा फाइल लैजाँदै गरेको स्रोतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीहरूको सरुवामा शर्माले अन्याय गरेको भन्दै गृहमन्त्रालयका सहसचिव र उपसचिवहरूले भित्रभित्रै असहयोग आन्दोलन सुरु गरेको स्रोतको भनाइ छ ।

‘२ नं. प्रदेशको स्थानीय तह निर्वाचन तथा प्रदेश र संसदको निर्वाचनलाई ध्यानमा राखेर गृहमन्त्री शर्माले नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागमा ठूलो हलचल ल्याउँदै हुनुहुन्छ’, गृहमन्त्रालय उच्च स्रोतले भन्यो, ‘केही उच्च अधिकारीको बढुवा फाइल बिहीबारको मन्त्रिपरिषदमा पेस हुँदैछ । यसरी निर्वाचन आचारसंहिता विपरितका कार्य सरकारले गर्दा पनि प्रमुख विपक्षी दल एमाले र निर्वाचन आयोग चुप लागेर बसेका छन् ।’

स्कूले सहपाठी तथा नेपाल प्रहरीका पूर्वएआईजी सुरेन्द्रबहादुर शाहलाई सुरक्षा सल्लाहकार नियुक्त गरेर प्रहरी मुख्यालयमा समानान्तर सचिवालय खोलिदिएपछि गृहमन्त्री शर्माले सुरक्षा निकायभित्र के गर्न लागेका हुन् भनेर प्रहरीका उच्च अधिकारीहरू डराएका छन् ।

गृहमन्त्री शर्माले नेपाल प्रहरीलाई जस्तै सशस्त्र प्रहरी र गुप्तचर विभागमा पनि राजनीतिक हस्तक्षेपको निशाना बनाएको स्रोतको भनाइ छ ।

गृहमन्त्री शर्माले भित्रभित्रै सुरक्षा निकायका सिपाहीदेखि उच्च हाकिमहरूको सुरुवा सूची तयार पारेर पठाएका छन् । शर्माले गृहमन्त्रालय मातहतका सबै विभाग र कार्यालयका खरिदार, सुब्बा, अधिकृत, उपसचिवदेखि सहसचिवसम्मका आफू निकटकालाई उपयुक्त स्थानमा सरुवाको तयारी गरेका छन् ।

निर्वाचन आचारसंहिता विपरितका काम तत्काल रोक्नुपर्छ : एमाले

एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले निर्वाचन आचारसंहिता विपरितका कुनै पनि क्रियाकलाप नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

‘२ नं. प्रदेशमा स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी छ । यस्तो अवस्थामा सरकारले निर्वाचन आचारसंहिता विपरित हुने कुनै पनि क्रियाकलाप गर्नु हुँदैन’, पोखरेलले भने, ‘निर्वाचन आयोगले पनि यस्ता विषयमा ध्यान दिनुपर्छ ।’

एमाले नेता पोखरेलले कुनै कर्मचारीको सरुवा बढुवा गर्नु छ भने निर्वाचन सम्पन्न भएपछि गर्दा राम्रो हुने सुझाव दिए ।