
काठमाडौं, १४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद जम्बो आकारको बनेको भनेर आलोचना भइरहेका बेला मन्त्रीहरू भने बेरोजगार बनेर सुन्दरी प्रतियोगिताको उदघाटनमा व्यस्त छन् । केही राज्य मन्त्रीहरू आफ्नो गृह जिल्लाका मठमन्दिर र एनजिओका कार्यक्रमहरूमा सम्मान खाएर हिँडेका छन् ।
प्रधानमन्त्री देउवाका निकटका मानिने बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा सुन्दरी प्रतियोगिताको कार्यक्रममा सहभागी भएर आलोचित बन्न पुगेका छन् । मन्त्री विश्वकर्मा धरानमा सुरु भएको ‘मिस पूर्वाञ्चल’को प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।
उनको यो कार्यको नेपाली कांग्रेस सुनसरीका नेता तथा कार्यकर्ताले आलोचना समेत गरेका छन् । ‘शेरबहादुर देउवाको विश्वासपात्र विश्वकर्माले समग्र मुलुकको हित गर्लान् कि भनेर सोचेका थियौँ’, नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिका एकजना पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर के गर्ने उनी त सुन्दरी प्रतियोगितामा सहभागी भएर सम्मान लिन व्यस्त छन् । यस्तो कार्यले मन्त्री पदको गरिमा त घटाएकै छ । कांग्रेसलाई समेत बदनाम गरिएको छ ।’
बाणिज्यमन्त्री विश्वकर्मा यसअघि पनि राजधानीमा यस्तै सुन्दरी प्रतियोगितामा व्यस्त हुन्थे ।
उता, श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी आफ्नो गृहजिल्ला दाङ दुई हप्तादेखि सम्मान खाएर बसेका छन् । चौधरीले दिनमा तीन वटासम्म बधाइ र सम्मानका कार्यक्रममा सहभागी हुने गरेको स्रोतले जनाएको छ ।
सम्मान खानकै लागि राज्यमन्त्री चौधरी घोराहीको चौघेरास्थित गोरक्ष रत्ननाथ बाबाको मन्दिरमा दर्शनका लागि भनेर पुगेका थिए । मंगलबार पुगेका राज्यमन्त्री चौधरीलाई मन्दिरका योगी र पुजारीहरूले सम्मान तथा बधाइ दिएका थिए ।
दाङमा रहँदा कहिल्यै पनि गोरक्ष रत्ननाथ बाबाको मन्दिरमा नगएका राज्यमन्त्री चौधरी बुधबार भने एकाएक मन्दिरमा पुगेका थिए ।
दाङका क्लव, एनजिओ, मठमन्दिरसहितका थुप्रै संघसंस्थाको सम्मान र बधाइ खाएका चौधरीको शान्ति सुरक्षाका लागि दाङ प्रहरीलाई हैरानी भएको एक उच्च प्रहरी अधिकारीले बताए ।
ब्याक वार्ड एजुकेशन सोसाइटी (बेस) नामक एनजिओबाट राजनीतिमा उदाएका चौधरी देउवाका खास विश्वासपात्र मानिन्छन् ।
उता, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ स्वयम्भुस्थित होटलमा बसेर आलोचित बन्न पुगेका छन् । स्वयम्भुको ‘स्वयम्भु पिस होटेल’मा केही दिन डेरा जमाएर बसे । त्यति मात्रै होइन, उनले होटलमा सुरक्षाकर्मीको भिड नै लगाए ।
गृह राज्यमन्त्री श्रेष्ठको यस्तो चर्तिकलाका विषयमा समाचार आएपछि कोठा नपाएर गृहजिल्लाबासीको होटलमा बसेको प्रतिक्रिया दिन भ्याए । मुलुकको मन्त्रीले यस्तो लाचार जवाफ दिएको भनेर माओवादी केन्द्रभित्र नै उनको विरोध भएको थियो ।
त्यति मात्रै होइन, गृह राज्यमन्त्री श्रेष्ठ चढ्ने गरेको झण्डावाल गाडीको नम्बर समेत नक्कली भएको समाचार बाहिर आएको छ ।











प्रतिक्रिया