३ कार्तिक २०८३, मंगलबार

जनकपुरमा एमाले भेलामा आक्रमण: माधव नेपाल लगायतका नेता सुरक्षित, राजपा कार्यकर्ता लखेटिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, १३ भदौ । जनकपुरमा नेकपा एमालेको कार्यकर्ता भेलामा आक्रमण भएको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि रहेको अगुवा कार्यकर्ता भेलामा राजपाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । नेकपा एमालेले २ नम्बर प्रदेशको स्थानीय निर्वाचनलाई मध्यनजर गरी मंगलबार मोर्चा संगठनको भेला गरेको थियो ।

भेलालाई अबरोध गर्दै जनकपुरको रामानन्द चोकमा राजपाका कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीसँगको झडपमा राजपाका केही कार्यकर्ता घाइते भएका छन् ।

यसैगरी, पिडारी चोकमा कार्यकर्ता भेला चलिरहेका बेला केही राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै एमालेविरोधी लगाएपछि एमालेकै कार्यकर्ताले लखेटेका थिए ।

त्यसपछि सम्भावित झडपलाई नजरमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको थियो । एमालेका वरिष्ठ नेता नेपाल, सचिव गोकर्ण विष्ट, शत्रुधन महतो लगायतका नेताहरु सुरक्षित रहेको युवा संघका अध्यक्ष राजीव पहारीले जानकारी दिए । पहारीका अनुसार, एमालेका नेताहरुलाई लक्षित गरी मञ्चमै ढुंगा हानिएको थियो ।

प्रदेश नम्बर २ को चुनाव नजिकिँदै गर्दा एमालेले आफ्ना गतिविधिलाई तीव्रता दिइरहेको छ । एमालेलाई मधेशमा रोक्ने रणनीतिका साथ राजपाले एमालेमाथि निराशा बनाइरहेको छ ।